0 COMMENTS

भदाै ११, कैलाली । धनगढीको सहिदगेट नजिक रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीकोशल्यक्रिया गर्न आएका बिरामीको मृत्यु भएको छ । दुबै मृगौलामा पत्थरी भएर शल्यक्रिया गर्न आएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । 

चौधरीका भतिजा राजकुमार चौधरीका अनुसार दुबै किड्नीमा पत्थरीले गर्दा समस्या आएपछि भदौ ९ गते शनिबार उनलाई बिहान अस्पताल भर्ना गरियो । उनको बायाँ किड्नीमा ११ एमएम र ९ एमएम गरी २ वटा पत्थरी थिए भने दायाँ किड्नीमा साढे ९ एमएमको पत्थरी रहेको थियो । उनका अनुसार अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ किड्नीको पत्थरीको अप्रेसनको क्रममा किड्नी नै झिक्दा अत्याधिक रक्तश्राव भइ बिरामीको मृत्यु भएको हो ।

मृतकका भतिजा राजकुमारले भने, ‘सबै परीक्षणपछि सवा १ बजे अप्र्रेसनको लागि अप्रेसन थेटर लगियो । सुरुमा अप्रेसन सफल भयो भनियो । हामीमा खुशीको सीमा थिएन । तर जब साँझ ७ बज्यो बिरामी बेहोस भए । उनको पेट पुरै फुल्यो । बुझ्दा किड्नीको नशा काटिएर रक्तश्राव भएछ । पछि पुनः डाक्टरले अप्रेसन गरे र किड्नी नै झिकिदिए । बिरामीको अवस्था झन बिग्रियो । त्यसपछि डाक्टरले अब सकिँदैन भनेर निस्किए ।’

अस्पतालका अध्यक्ष महेश जोशीले पनि अप्रेसन हुँदा अत्यधिक रक्तश्राव हुँदा त्यसलाई रोक्न किड्नी झिकिएको र त्यसले पनि नरोकिएपछि अवस्था बिग्रिएको स्वीकार गरेका छन् । अप्रेसन बिग्रिएकोबारे डाक्टरसँग स्पष्टीकरण सोधिने अस्पताल अध्यक्ष जोशीको भनाइ छ । डाक्टरको प्रष्टीकरण आएपछि सोही अनुसार अगाडि बढ्ने उनले बताए । अस्पतालले चौधरीलाई अझै मृत घोषणा गरिसकेको छैन ।

अहिले बिरामीका आफन्तले डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएकोले सत्य तथ्य छानविन गरी डाक्टरलाई हदैसम्मको कारवाहीको माग गरिरहेका लखन चौधरीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।