0 COMMENTS

भदाै ५, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो खस्दा अवरुद्ध भएको छ । गएराति नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो ।

खसेको पहिरो पन्छाउन अझै ५–६ घन्टा लाग्ने सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । उनले पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको बताए । रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि अहिलेसम्म ३० प्रतिशतमात्र काम भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनका अनुसार चार मेसिन पहिरो पन्छाउन प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो चलेका छन् । रातभर काम निरन्तर भएको तामाङले बताए ।

गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन् । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी नायब निरीक्षक चुडामणि पोखरेल अनुरोध गरेका छन् । उनले काठमाडौँबाट गएका सवारीसाधन मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएको बताए । नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।