0 COMMENTS

साउन ३२, काठमाडौँ । आज दोरम्बा हत्याकाण्डको २१ औँ स्मृति दिवस । २१ वर्षअघि भएको दोरम्बा हत्याकाण्डको स्मरण गर्दै रामेछापको डाँडाकटेरीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले स्मृति सभा गर्दैछ । स्मृति दिवसलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य अटल लगायतका नेताहरुले सम्बोधन गर्दै हुनुहुन्छ । आज साउन ३२ गते आइतबार १८ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस हो । जनयुद्धमा राज्यसत्ताद्वारा मच्चाइएका अत्यन्त क्रूर, बीभत्स र बर्बर हत्याकाण्डहरूमध्येको पनि क्रूरतम् हत्याकाण्डका रूपमा दोरम्बा हत्याकाण्ड परिचित छ ।

२०६० साल साउन ३२ गते तत्कालीन नेकपा (माओवादी) र शाही सत्ताबीच युद्धविराम भएर दाङको हापुरेमा शान्तिवार्ता चलिरहेको समयमा शाहीसेनाले अचानक रामेछापको दोरम्बामा एरियास्तरको बैठक बस्ने तयारी गर्दै गरेका नेकपाका क्षेत्रीय, जिल्ला र एरियास्तरका नेता–कार्यकर्तालाई घेराउ गरी कसैलाई बैठक स्थलमै गोली हानेर र अधिकांशलाई हात बाँधेर करिब डेढ घन्टाको बाटो माथि डाँडाकटेरी पुर्याई लाम लगाएर पालैपालो कन्चटमा गोली हानी बर्बरतपूर्वक हत्या गरेको थियो ।

दोरम्बाको डाँडाकटेरीमा तत्कालीन शाही सेनाले रामेछाप जनसरकार प्रमुख बाबुराम लामा (पुष्प), अम्बिका दाहाल (ललिका), उमा कार्की (सहारा), विष्णुमाया थापामगर (बिमा), विमला, उषा, रक्तिम, हर्कबहादुर तामाङ (यथार्थ), रवि चौहान (समीर), श्याम तामाङ (इन्क्लाब), पदमराज गिरी (असल), ठूलोराम तामाङ (छोक्पा), सानोराम तामाङ (तारा), लक्ष्मण तामाङ (छायाँ), जमिन, सोम, युवराज मोक्तान, लीला मोक्तान, टेकबहादुर थापामगर (विवेक), चतुर्मान थामी (समर) सहित २१ जनाको विभत्स र बर्बरतापूर्वक हत्या गरेको थियो ।

शाही सत्ताको सैनिक मेजर राममणि पोखरेल नेतृत्वमा खटिएका शाही सेनाका जल्लादहरूले सरकार–माओवादीबीच दाङको हापुरेमा शान्तिवार्ता चलिरहेको अवस्थामा गरिएको यो हत्याकाण्ड तत्कालीन शाही सत्ताले घटाएको कुख्यात हत्याकाण्डको रुपमा चर्चित छ । निहत्था र निर्दोष माओवादी नेता–कार्यकर्तालाई नियन्त्रणमा लिएर आँखामा पट्टी बाँधी हात बाँधेर घिस्याउँदै लाम लगाएर बीभत्स र क्रूर तरिकाले नृशंश हत्या गरेका थिए ।

यो हत्याकाण्डमा जीवन बलिदान गर्ने जनयोद्धाहरुले आत्मसमर्पण गरेको भए उहाँहरुको भौतिक शरीर जीवित रहन सक्थ्यो तर उहाँहरुले आत्मसमर्पण गर्नुभएन, पार्टीका गोपनियताहरु खोल्नु भएन, पार्टी र क्रान्तिमाथि कुनै धोका र गद्दारी गर्नुभएन, बरु मृत्यु रोज्नु भयो । निडर र निर्भिकतापूर्वक वर्गवैरीको गोली छातीमा थापेर महान बलिदान रोज्नुभयो । क्रान्तिका लागि दोरम्बा हत्याकाण्डमा उच्च बलिदान गर्ने सहिदहरु उर्जा र उत्प्रेरणा हुन्, र रहिरने छन् । ती महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।