0 COMMENTS

साउन २९, काठमाडौँ । एउटै कसुरमा अदालतले व्यक्तिअनुसार फरक–फरक आदेश दिएको छ । एमबिबिएस अध्ययनका लागि आइएस्सीको नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा पक्राउ परेका चिकित्सकलाई प्रहरीले शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेस गरेकोमा सांसदसमेत रहेका सुनील शर्मालाई तारेखमा राख्न र अन्यलाई थुनामा राख्न आदेश दिएको छ ।

भागी जाने र प्रमाण नष्ट गर्ने सम्भावना नभएको भन्दै अदालतले शर्मालाई तारेखमा राखेर अनुसन्धान गर्न भनेको हो । तर, उनीसँगै पक्राउ परेका अन्य चिकित्सक अमित चौधरी, मनित चौधरी, एरिना साह, रञ्जितकुमार यादव र श्रद्धा सिल्पकारलाई भने थुनामै राख्न अनुमति दिएको छ । सबैमाथि समान कसुर रहे पनि कसैलाई थुनामा राख्ने तथा कसैलाई तारेखमा राख्न अदालतले दिएको आदेशले प्रहरी अधिकारी अन्योलमा परेका छन् ।

न्यायाधीश दण्डपाणि शर्माको इजलासले दिएको आदेशमा शर्मा प्रतिनिधिसभा सदस्य रहेको र अनुसन्धानका लागि हिरासतमै राख्नुपर्ने अवस्था नदेखिएको उल्लेख छ । लिखित आदेशमा भनिएको छ, ‘… यी सुनीलकुमार शर्मा संसद्को प्रतिनिधिसभामा मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भई प्रतिनिधिसभाको निर्वाचित सदस्य रहेको भन्ने मिसिल संलग्न संसद् सचिवालयको जानकारीबाट देखिएको र निजले पेस गरेका आइएस्सीको शैक्षिक प्रमाणपत्र भारत बिहारको राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको नदेखिएको र अनुसन्धानका लागि राष्ट्रिय परीक्षा बोर्डबाट मिति २०७९÷४÷५ मा पत्राचार भइसकेको सन्दर्भमा प्रतिवादी सुनीलकुमार शर्मा भागी जाने सम्भावना पनि नरहेको र निजले प्रमाणको लोप वा नष्ट गर्ने अवस्थाको विद्यमानता रहेको समेत नदेखिँदा म्याद थपका लागि उपस्थित गराइएका प्रतिवादी सुनीलकुमार शर्मालाई मुद्दा अनुसन्धानका लागि प्रहरी हिरासत थुनामा नै राख्नुपर्ने अवस्थाको विद्यमान मिसिल संलग्न कागजबाट नदेखिँदा यी प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को उपदफा १ बमोजिम तोरखमा राखी मुद्दा अनुसन्धान गर्नू ।’

अदालतको आदेशअनुसार शर्मा शुक्रबार साँझ नै छुटेका छन् । छुटेलगत्तै उनले आफूलाई फसाएको भन्दै सरकारको आलोचना गरेका छन् । शर्माले बिहारको फारबेसगन्जस्थित बिडिबिकेएस कलेजमा अध्ययन गरेको भनेर शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । तर, बिहारको राष्ट्रिय परीक्षा बोर्ड, पटनाले उनको प्रमाणपत्र नक्कली भनेर प्रमाणित गरिसकेको छ ।

सिआइबीले नक्कली प्रमाणपत्रधारी चिकित्सकविरुद्ध पुरानो फाइल खोलेर फेरि अनुसन्धान थालेको हो । हालसम्म आठजना पक्राउ परिसकेका छन् । यो प्रकरणमा शुक्रबार मात्र प्रहरीले भक्तपुरकी डा. पुनम थापा, श्रद्धा सिल्पकार र मनित चौधरीलाई पक्राउ गरेको छ । थापासहित रौटहटमा पक्राउ परेका रामबाबु यादवलाई भने अदालतमा उपस्थित गराउन नभ्याइएको सिआइबीका एसपी नवराज अधिकारीले बताए ।

सुन प्रकरणामा बोलेपछि सांसद शर्मालाई पक्राउ गरियो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणको विषयमा बोलेकाले नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेको बताएका छन् ।
आइतबार बालकोट पुगेका सांसद शर्मासँग भेटपछि ओलीले सुन प्रकरणमा सरकारविरुद्व बोलेकाले शर्मालाई पक्राउ गरिएको बताएका हुन् ।
उनले नक्कली सर्टिफिकेट प्रकरणमा ३० वर्षसम्म सरकार के हेरेर बसिरहेको थियो भन्दै प्रश्न गरे। ओलीले बहालवाला सांसदलाई मनमौजी पक्राउ गर्न नमिल्ने बताए। उनले जानकारी नै नगरि कुनै आदेशबिना सांसद शर्मालाई पक्राउ गरिएको भन्दै असन्तुष्टि जनाए ।
ओलीले सरकारले संसदमा प्रतिपक्षलाई समेत बोल्न नदिएको भन्दै सरकारको कारण संसद रोकिएको बताए ।
ओलीसँगको भेटमा सांसद शर्माले एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका थिए ।
माओवादीले गर्दा कांग्रेस खिइँदै गएकोले माओवादीलाई छोडेर कांग्रेसले एमालेसँगको सहकार्य गर्दै सरकार बनाउनेपर्ने शर्माले जोड दिएका थिए। उनले ओलीलाई राजनेताको संज्ञा दिए ।

सुनलगायत भ्रष्टाचार काण्ड छानबिन गर्न कांग्रेसभित्र पनि उच्चस्तरीय समिति माग

नेपाली कांग्रेसका सांसदहरूले सुन काण्डलगायत भ्रष्टाचार प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेर जानुपर्ने पक्षमा उभिन पार्टी नेतृत्वलाई दबाब दिएका छन् ।
मुख्यगरी संस्थापनइतर समूहका सांसदले सुन प्रकरणसहित चर्चित भ्रष्टाचार काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय संसदीय दलबाट गर्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
आइतबारको संसदीय दल बैठकमा बोल्दै सांसद शेखर कोइरालाले सुन प्रकरणलगायत छानबिन गर्न उच्चस्तरीय समिति गठनको आवश्यकता रहेको औंल्याए। उनले राजश्व अनुसन्धान र सिआइबीले यो प्रकरण टुंगो लगाउन गाह्रो देखिएको तर्क गरे ।
‘राजश्व अनुसन्धानका महानिर्देशक एक साताअघि प्रधानमन्त्रीजीको सचिवालयमा हुनुहुन्थ्यो । महानिर्देशक भएपछि सुन बरामद त भयो तर त्यसपछिका घटनाहरू पनि हेरौं,’ कोइरालाले भने, ‘सिआइबीलाई छानबिन गर्न किन दिनुपर्यो, राजश्व अनुसन्धानले नै छानबिन गर्न सक्षम छ भनेर महानिर्देशक भन्नुहुन्थ्यो । त्यसैले पनि सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छ ।’

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले पनि सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै लगातार संसद बैठक अवरूद्ध गर्दै आएको छ। यसबारे कोइरालाले थपे, ‘एमालेले किन उच्चस्तरीय छानबिन समिति माग गरेको हो? त्यतातर्फ पनि हामीले सोच्नुपर्छ।’
अर्का सांसद प्रदीप पौडेलले सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न नचाहेको देखिएको बताए। उच्चस्तरीय समिति गठन नगर्ने हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थनमा कांग्रेसले पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ।
‘सबै चर्चित काण्डहरू छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने निर्णय कांग्रेस संसदीय दलले गर्नुपर्छ,’ पौडेलले भने, ‘सरकार उच्चस्तरीय छानबिन समिति बनाउन तयार नहुने हो भने प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिनुपर्छ।’
गणतन्त्र आएदेखि अहिलेसम्मका चर्चित भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न सरकार तयार हुनुपर्ने र त्यसका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने पौडेलको भनाइ छ।
अर्का सांसद सुनिल शर्माले पनि उच्चस्तरीय छानबिन समिति बनाएर सुन प्रकरणलगायत छानबिन गरिनुपर्ने बताएका छन्। नैतिक विषय उठान गरेर आफूले प्रतिनिधि सभा बैठकमै सुन प्रकरण छानबिन गर्न अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको उनको भनाइ छ।
‘सुनसहित विगतका चर्चित काण्ड छानबिन गर्न एउटा बलियो छानबिन समिति गठन गर्नुपर्छ,’ शर्माले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीले भ्रष्टाचार गरे भने पनि छानबिन गर्न सक्ने शक्तिशाली आयोग बनाउनुपर्छ, यसका लागि लोकपाल विधेयक ल्याउन पार्टीले नेतृत्व लिनुपर्छ भनेर मैले भनेको छु।’

माओवादी बैठकमा गृहमन्त्री श्रेष्ठले भने– दोषी भए महराजी पनि कारबाहीको भागिदार हुनुपर्छ

नेकपा (माओवादी केन्द्र) का बरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा दोषी देखिए आफ्नै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पनि कारबाहीको भागिदार हुनुपर्ने बताएका छन्।
आइतबार बसेको माओवादी पदाधिकारी एवम् सरकारका मन्त्रीहरूको बैठकमा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
‘गृहमन्त्रीजीले सुशासन र भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा सरकारले गरिरहेको कामको बिफ्रिङ गर्नुभएको थियो,’ एक पदाधिकारीले भने, ‘हाम्रै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराजीको बारेमा पनि सिआइबीको रिपोर्ट मिडियामा आएका समाचारबारे जानकारी गराउनुभएको थियो। दोषी भए कसैलाई पनि नछोड्ने पदाधिकारीमा समझदारी छ।’
माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुल इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन प्रकरणमा मुछिएका छन्। महराका छोरा राहुलले सुन ल्याउने चिनियाँ नागरिकसँग पटक–पटक फोन गरेको तथ्य सिआइबीले फेला पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।