0 COMMENTS

साउन २०, बर्दिवास । क्रान्तीकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) मधेश प्रदेशको एकता भेला, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच बर्दिबासमा सो भेला सम्पन्न भएको हो । अखिल (क्रान्तिकारी) को एकता भेला र बैठक सङ्गठनको केन्द्रीय सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक पारस राहादी मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त भेलामा प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईले आजको विद्यार्थी आन्दोलनको नेतृत्व अखिल (क्रान्तिकारी) ले गरिरहेको बताए । साथै संयोजक राईले मधेश प्रदेशको शिक्षा क्षेत्रका समस्याहरूको मुद्दालाई उठान गर्दै दृढतापूर्वक संघर्ष गर्न निर्देशन समेत दिए । त्यस्तै भेलाका बिशिष्ट अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मधेश प्रदेश संयोजक रमेशले क्रान्तिकारी विद्यार्थीहरूको अभिभावत्व पार्टीले गर्ने बताए । उनले हरेक कलेज, हरेक गाउँटोल अखिल (क्रान्तिकारी) मय बनाउनको लागि आजैबाट अभियान थाल्नुपर्ने बताए ।

यसैगरी मधेश प्रदेश संयोजक पारस राहादी मगरले मधेश प्रदेश अन्यको तुलनामा साक्षरता दर असाध्यै कम भएको भन्दै स्कूल बाहिर रहेका हरेक बालबालिकालाई स्कूलको पहुँचमा पुर्याउन सङ्गठनले निरन्तर अभियान चलाउने बताए । उनले मधेश प्रदेशमा शिक्षा क्षेत्रमा जटिल समस्याहरू रहेको भन्दै त्यसलाई अन्त्य गर्न विभिन्न सङ्घर्षका कार्यक्रमहरू एवम् अभियानहरू सञ्चालन गर्ने बताए । साथै मगरले यस क्षेत्रको समाज अन्यत्रको तुलनामा बढी संवेदनशील भएकोले सामाजिक तथा राजनीतिक जागरण अपरिहार्य रहेकोले अखिल (क्रान्तिकारी) ले गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धता जनाए ।

सो भेलाले पारस राहादी मगरको संयोजकत्वमा १७ सदस्यीय प्रदेश समिति गठन गरेको छ । साथै प्रदेश अन्तरगतका जिल्लाहरूको भेला सम्पन्न गर्नको लागि जिल्ला संयोजकहरूको समेत जिम्मेवारी तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।