0 COMMENTS

साउन १५, काठमाडौँ । मजदुरहरुको पारिश्रमिक शत प्रतिशत वृद्धिको माग गर्दै ३ वटा मजदुर संगठनको संयुक्त आयोजनामा विरोध प्रदर्शन एवं सभा सम्पन्न भएको छ । काठमाडौको माइतीघर मण्डलाबाट शुरु भएको विरोध प्रदर्शन बबरमहल, बिजुलिबजार हुँदै पुनः माइतीघरमा पुगेर विरोध सभामा परिणत भएको हो ।

विरोध सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष दिनेश शर्माले सम्बोधन गर्नु भएको थियो । विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष शर्माले वर्तमान सरकारलाई मजदुर विरोधी सरकारको संज्ञा दिनुभयो । “यो सरकार मजदुर विरोधी सरकार हो, यो व्यवस्था मजदुर विरोधी व्यवस्था हो । यो घाम जतिकै छर्लङ्ग छ । हाम्रो यो सरकारलाई चुनौती छ कि मजदुरहरुको पारिश्रमिक शत प्रतिशत वृद्धि गर । खाद्यान्न, शिक्षा, स्वास्थ्य, आवास, ढुवानी आदि सबै क्षेत्रमा महङ्गिले आकाश छोएको छ, मजदुरको दैनिक ज्याला रु. ५१७/ छ, चिया मजदुरको सन्दर्भमा रु. ३८५ छ र त्यो पनि कार्यान्वयन भएको छैन । के मजदुरले बाँच्नु पर्दैन ? एउटा न्यूनतम पारिश्रमिक बोर्ड नामको विचौलियाहरुको अखडा छ, त्यो किन चाहियो ? त्यो तुरुन्तै खारेज हुनुपर्छ । त्यो अखडा खारेज गर ।” “अब यो व्यवस्था बदल्न मजदुरहरुले निर्णायक विद्रोह गर्नेछन ।” उहाँको कथन थियो ।

नेपालको श्रम ऐन, २०७४ ले श्रमिकको न्यूनतम पारिश्रमिक हरेक दुई/दुई वर्षमा वृद्धि हुने व्यवस्था गरेको छ, यद्यपि सो प्रावधान आजसम्म कार्यान्वयन भएको छैन । हाल मजदुरको सामान्यतः पारिश्रमिक दैनिक रु. ५१७/ र चिया मजदुरको रु. ३८५/ तोकिएको छ यद्यपि त्यसको कार्यान्वयनमा समेत राज्य उदासिन छ । उक्त विरोध प्रदर्शन तथा सभाको सञ्चालन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष विनोद थापाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।