0 COMMENTS

जेठ ३२, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्‍ठ र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच शिष्‍टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध सधै सौहार्दपूर्ण रहेको उल्लेख गर्दै अष्ट्रेलियायाले नेपाललाई प्रदान गर्दै आएको सहायताको लागि विशेष धन्यवाद दिए । राजनीतिक परिवर्तनपछि आफुहरूको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित रहेको तर त्यसको लागि विदेशी लगानी आकर्षित गर्ने र बढ्दो व्यापार घाटाको नियन्त्रण गर्ने काममा अष्ट्रेलिया जस्तो देशबाट साथ(समन्वयको अपेक्षा गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । खासगरी उर्जा र कृषिमा वैदेशिक लगानी आवश्यक भएको उनको भनाई रहेको थियो ।

प्रतिउत्तरमा राजदुत भोल्कले नेपालजस्तो आत्मीय देशको विकास साझेदार हुन पाउँदा आफुहरूलाई खुशी लागेको र भर्खरै उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयसँग पनि साझेदारी बढाउने तर्फ सहकार्य भैरहेको बताइन् । व्यापारमा समेत साझेदारी गर्न अस्ट्रेलिया इच्छुक रहेको र दुईदेशबीच उच्चस्तरीय व्यापार सम्झौताको तयारी भैरहेको राजदुत भोल्कले बताइन् । त्यसका लागि यही अक्टोबर महिनामा अष्ट्रेलियाका उच्च अधिकारीहरू नेपाल आउने उनले जानकारी समेत दिइन् ।अष्ट्रेलियामा ठूलो संख्यामा नेपालीहरू रहेको र अष्ट्रेलियाले नेपालीहरूको आतिथ्यता एवम् शान्ति सुरक्षाको ख्याल गरेकोमा उपप्रधानमन्त्री श्रेष्ठले विशेष धन्यवाद दिए । राजदुत भोल्कले भने नेपाली विद्यार्थीलाई छात्रवृत्तिका कोटाहरू बढाइएको र कर्मचारी कोटा समेत तय गरिएको बताइन् । साथै नेपाल घुम्न आउने वा सगरमाथा लगायत अन्य हिमाल आरोहण गर्ने क्रममा अष्ट्रेलियन पर्यटकलाई नेपाल सरकारले प्रदान गरेको सुरक्षा, समन्वय र सहयोगको लागि राजदुतले धन्यवाद दिइन् ।

राजदुत भोल्कले दिवंगत भएका पर्वतारोहीको शव फिर्ता र मृत्युको प्रमाणपत्र उपलब्ध गराउने विषयमा नेपाली कानून र निर्देशिकासँग संगत हुनेगरी सहयोगको अपेक्षा गरेको बताउनुभयो। जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले केही अप्ठेरो परेको भए आफुले सम्बन्धित निकायसँग बुझेर समन्वय गर्ने बताएन् । आफू नेपालस्थित विदेशी नियोगहरूको शरणार्थी सहायता समूहको सहअध्यक्ष रहेको जानकारी दिंदै राजदुत भोल्कले नेपालले भुटानी शरणार्थीहरूलाई प्रदान गरेको सहायता र सदासयताको प्रशंसा गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।