0 COMMENTS

वैशाख २९, चितवन । चितवनको नारायणी कला मन्दिरमा ‘चित्तौन कचेहेरी’ सुरु भएको छ । चितवनको पहिचानसँगै देशको समस्या र सम्भावनाको खोजी गर्न विभिन्न ६ वटा संस्थाहरूको आयोजनामा शुक्रबार बिहानबाट नारायणगढको नारायणी कला मन्दिरमा ‘चित्तौन कचेहेरी’ सुरु भएको हो । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको आयोजकमा मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मन्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिर रहेका छन् 

चितवनको पहिचानसँगै देशको समस्या र सम्भावनाको खोजी गर्नका लागि कार्यक्रमको आयोजना गरिएको चित्तौन कचेहेरीका सहनिर्देशक डा.जिवन क्षेत्रीले जानकारी दिए । कार्यक्रमलाई स्वागत गर्दै क्षेत्रीले अहिले नेतृत्व तहमा बसेका व्यक्तिहरु जनताको समस्याहरुलाई सामाधान गर्न तर्फ नलागेको धारणा राखे । सभ्य समाज निर्माणको लागि चित्तौन कचेहेरीको आयोजना गर्न लागिएको उनको भनाई छ ।

कचेहेरीमा चितवन र समग्र देशको समस्या र सम्भावनाहरू खोतल्ने गरी प्यानल छलफल तथा नाटक, साहित्य प्रस्तुत गरिने आयोजक समितिका संयोजक सरिता तिवारीले बताइन् । दुई दिनसम्म कार्यक्रममा मान्छेका जीवन–मरणका विषयहरू उठान गरिने र थुनिएका आवाजलाई चिन्तनको मूलधारमा ल्याउने प्रयास गरिने जनाइएको छ । कचेहेरीको पहिलो दिन ७ वटा विषयमा प्यानल छलफल हुनेछ ।

घर गाउँको सिंहदरबार : कति विकास, कति शासन ?, कृषिमा उद्यमशीलता : कर्म र मर्म, न्यायको लामो लडाइँ, महिलामाथिको हिंसा : यथार्थ र भाष्य पानी र पर्यावरण : नदी र भूमिगत जलाधारको दुर्दशा, अस्थित्व र आत्मसम्मानको खोजी, नयाँ युगको राजनीति : विचार कति, व्यवहार कति’ विषयमा शुक्रबार प्यानल छलफल हुनेछ । शुक्रबार नै,थाहा ? सशस्त्र युद्धमा बेपत्ता पारिएका नागरिकको सम्झनामा, नाटक प्रस्तुत गरिने पनि तिवारीले बताइन् ।

शनिबार विकासमा कहाँ छुटे आदिवासी, जब्बर जात व्यवस्था : समाज अघि बढ्दैछ कि पछि ?, कसरी लेखिँदैछ चितवनको आख्यान ?, मधेश र सत्ता, रैथाने भाषाको साहित्य, चितवन : हिजो, आज र भोलि, ‘स्वप्नबयान’ नाटक प्रस्तुति र गजल वाचन कार्यक्रमसमेत हुनेछ । उद्घाटन कार्यक्रममा थारु संस्कृतिको नाँचसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा साहित्यिक, राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, पत्रकारिता लगायतका क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।