0 COMMENTS

वैशाख २७, काठमाडाैँ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा घरमा लागेको आगो निभाउने क्रममा जलेर मृत्यु हुनेको संख्या चार पुगेको छ । आगलागीमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको हो ।

बुधबार बिहान भूमिकास्थान नगरपालिका–२ का ३६ वर्षीय माधव बेल्वासेको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्सपेक्टर कृष्णप्रसाद घिमिरेले जानकारी दिए । भूमिकास्थान नगरपालिका-२ तिरतिरे जंगलमा मंगलबार लागेको आगो स्थानीय पदम बेल्वासेको दुई तले कच्ची टिनले छाएको घरमा सल्केको थियो ।

घरमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएको पाँच जनामध्ये ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको यसअघि नै मृत्यु भइसकेको थियो । पदमलाई थप उपचारको लागि काठमाडौ लैजाने क्रममा नारायणगढमा र पिताम्बरको मिसन अस्पतालबाट काठमाडौं लैजांदै गर्दा पाल्पामै मंगलबार राति मृत्यु भएको हो ।

काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचाररत माधव र घनश्यामको भने बुधबार बिहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परेकी २६ वर्षीय अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भैरहेको र उनी खतरामुक्त रहेको प्रहरी निरीक्षक घिमिरेले बताए ।

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा लैजान सिफारिस गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ लैजान सिफारिस गरिएको थियो ।

यसैबीच सन्धिखर्क नगरपालिका–४ वाङलास्थित मुस्लिम बस्तीमा आगलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट चार भैँसीसमेत जलेर मरेका छन् । कुखुरा फार्ममा आगलागी हुँदा आठ सयभन्दा बढी कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालद्दिन मियाँ, सफी मियाँ र समसेर मियाँका घरगोठ जलेर नष्ट भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।