0 COMMENTS

वैशाख २१, काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा अझैँ कम्तीमा १०\११ जना पक्राउ पर्ने देखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले अझै १०\११ जना पक्राउ पर्न सक्ने बताएका हुन् ।

‘अझै पनि १०\११ जना व्यक्तिहरू पक्राउ पर्नुपर्ने प्रारम्भिक अवस्थाको कुरा हो,’ उनले भने, ‘अरू व्यक्तिहरू पनि थप अनुसन्धानको क्रममा कति पर्छन्, बिचबिचमै भएकाले अहिले नै भन्न सकिन्न । अहिले हामीसँग ८ जना हुनुहुन्छ । उहाँहरूसँगको अनुसन्धानबाट खुल्न आएका विषयले हाम्रो अनुसन्धानको अगाडिको बाटो खुल्छ ।’ उनका अनुसार यो प्रकरणमा प्रहरीले सुरूमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो । संगठित रूपमै ठगी गरेको पाइएपछि प्रहरीले यसलाई संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

परिसरले अहिलेसम्म यो प्रकरणमा आठ जनालाई पक्राउ गरेको छ । उनीहरूमाथि अनुसन्धान गरेको आज ४० औँ दिन पुगेको छ । संगठित अपराधमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्न अझैँ २० दिन छ ।

परिसरमा नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको भन्दै प्रहरीमा २० वटा जाहेरी परेको थियो । जसमा १०० बढी पीडितको हस्ताक्षर रहेको एसएसपी कार्कीले बताए । अहिलेसम्म प्रहरीले पक्राउ गरेकोमा केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरूङ, इन्द्रजित राई, टेकनारायण पाण्डे, सन्देश शर्मा, सागर राई र सन्दीप रायमाझी छन् । कतिपय फरार अभियुक्तको प्रहरीले खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।