आज हामी मजदुरहरूको महान् ऐतिहासिक पर्व मे दिवसमा खुसीको विषय लिएर उपस्थित भएका छौँ । त्यो खुसीको विषय भनेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बीच वार्ता, पार्टी एकता संयोजन समितिका बैठक तथा बहस र रूपान्तरणको परिणामका रूपमा एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको गठन हुनु हो । नेपालमा यो १३४ औँ मे दिवसले यसमा सार्थकता हासिल गरेको छ । आखिर श्रमजीवी तथा उत्पीडित वर्गको अग्रदस्ताका रूपमा मार्क्सवाद–लेनिनवाद–माओवादको सर्वाेच्च चेतनाद्वारा सुसज्जित मानिसहरूबाट बनेको साम्यवादी दलबिना उनीहरूको मुक्ति असम्भव छ । यसका साथै त्यो अग्रचेतनाद्वारा आलोकित एकीकृत साम्यवादी दल नभईकन कुनै आन्दोलन वा क्रान्ति सम्पन्न हुन सक्दैन । नेपाली साम्यवादी आन्दोलनमा एकता–सङ्घर्ष–रूपान्तरण कम भएको छ भने एकता–सङ्घर्ष–फुटबाट यो बढी आक्रान्त भएको छ । हामी यो महान् चाडका अवसरमा एकता–सङ्घर्ष–रूपान्तरणको प्रक्रियालाई हाबी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
हाम्रो यो एकता मालेमावादी सिद्धान्तमा आधारित रहेको छ । पार्टी एकता र पार्टी निर्माणका सन्दर्भमा हामीलाई लेनिनले निर्देशन गर्नुभएको छ, ‘… तपाईंहरू एकता गर्न चाहनुहुन्छ भने आन्दोलनका व्यावहारिक उद्देश्यहरू पूरा गर्न सहमति गर्नुहोस् तर सिद्धान्तको प्रश्नमाथि कहिल्यै पनि कुनै मोलतोल हुन नदिनुहोस्, सिद्धान्तको प्रश्नमाथि कुनै ‘छूट’ नदिनुहोस् । माक्र्सको विचार यही थियो ।’
हामीले लेनिनको यो संश्लेषणप्रति निष्ठावान् रहँदै क्रान्ति पूरा गर्ने उद्देश्यमा पूर्ण रूपले सहमति गरेका छौँ भने मार्गनिर्देशक सिद्धान्त– मालेमावाद, क्रान्तिकारी कार्यदिशा– आमकार्यक्रम नयाँ जनवाद तथा आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद र साम्यवाद, क्रान्तिमा बल प्रयोगको भूमिका, सर्वहारा अन्तर्राष्ट्रियतावाद, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त, विद्यमान बहुलवादी संसदीय व्यवस्थाको अन्त्य र सङ्घीय जनगणतन्त्र नेपालको स्थापना, सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत महान् सर्वहारा सांस्कृतिक क्रान्तिजस्ता सिद्धान्तहरूप्रति कुनै मोलतोल हुन नदिन र ‘छूट’ नदिन प्रतिबद्ध रहेका छौँ । यी आधारभूत प्रश्नहरूमा रहेको एकताले नै यो पार्टी एकता सम्पन्न भएको घोषणा गर्दछौँ ।
हामीले मालेमावादको मौलिकतालाई दृढतापूर्वक रक्षा गर्दै देश, काल र परिस्थितिअनुरूप यसको विकास गर्नैपर्दछ । यस सन्दर्भमा लेनिनको यो संश्लेषणलाई पनि हामीले आत्मसात गर्नैपर्दछ : ‘साँच्चै भन्ने हो भने माक्र्सवाद भनेको कुनै जीवनहीन जडसूत्र होइन, न त परिपूर्ण, बनिबनाउ र अनुल्लङ्घनीय सिद्धान्त नै, बरु यो एउटा कार्यमा जीवन्त पथप्रदर्शक हो जुन आश्चर्यजनक रूपमा सामाजिक जीवनका अवस्थाहरूमा आकस्मिक परिवर्तनको प्रतिबिम्बनसँग जोडिएको हुन्छ ।’
लेनिनको यो निष्कर्षबाट निर्देशित भएर हामी के घोषणा गर्न चाहन्छौँ भने हामीले आजको परिस्थितिका अन्तर्विरोधहरूको समाधान गर्ने मार्क्सवादको पनि विकास गर्नैपर्दछ । आज विज्ञान र प्रविधिको विकासले गर्दा सामाजिक जीवनका अवस्थाहरूमा आकस्मिक परिवर्तनहरू आएका छन् । त्यसलाई प्रतिबिम्बित गरेर मात्र मालेमावादको विकास हुनसक्छ । यस सन्दर्भमा सिर्जनशील माक्र्सवादका पक्षपोषक र मौलिक माक्र्सवादका रक्षक माओले संश्लेषण गर्नुभएको छ : ‘हामीले कुनै नयाँ कुराको वकालत गर्न र कुनै भिन्न चीजलाई स्थापित गर्न साहस गर्नैपर्दछ । कुनै नयाँ कुराको वकालत गर्ने र कुनै भिन्न चीजलाई स्थापित गर्ने प्रश्न पनि दुई प्रकारको हुन्छ : लालझन्डा फहराउनु राम्रो कुरा हो भने श्वेतझन्डा फहराउनु नराम्रो कुरा हो ।’
नयाँ कुराको वकालत र भिन्न चीजको स्थापना गरेर नै माओले रुसभन्दा भिन्न देश र कालको परिस्थिति हुँदाहुँदै पनि चीनमा क्रान्ति सम्पन्न गर्नुभयो ।
नेपालको परिस्थितिअनुरूप मालेमावादलाई लागू गर्न र यो विशिष्ट परिस्थितिबाट यसको विकास गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल यसको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ । अर्थसामाजिक हिसाबले अर्धऔपनिवेशिक, अर्धसामन्ती र मुख्यतः नवऔपनिवेशिक, वर्गविश्लेषणका हिसाबले बचेखुचेको सामन्तवाद, नोकरशाही पुँजीवाद, दलाल पुँजीवाद मुख्यतः दलाल पुँजीवाद दुस्मन शक्ति र मजदुर, किसान, सिपाही, सुकुमबासी, राष्ट्रिय पुँजीपतिलगायतको मित्रशक्ति रहेको अवस्थामा दलाल तथा नोकरशाही पुुँजीवादी राज्यसत्ता र समग्र नेपाली उत्पीडित जनताका बीचको अन्तर्विरोध नै प्रधान अन्तर्विरोध रहेको छ । यसको समाधान नयाँ जनवादी क्रान्ति गर्दै पुगिने वैज्ञानिक समाजवादी व्यवस्था हो भन्ने कुरामा हाम्रो पार्टी प्रतिबद्ध छ ।
देशमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरू विकराल बनेका छन् । एमसीसी, एसपीपीजस्ता सम्झौताहरूमा पुगेर राष्ट्रियताको समस्या भयानक बनेको छ । झूट्टा मुद्दामा राजनीतिक नेता तथा कार्यकर्ताहरूलाई फसाएर तथा बन्दी बनाएर जनतन्त्रको समस्यालाई चरमचुलीमा पुर्याइएको छ । बैङ्कहरूको संरक्षणमा लघुवित्तीय, मिटरब्याजी र कथित सहकारी संस्थाहरूको चरम सूदखोरीले जनजीविकाका समस्याहरू आकासिएका छन् । राज्यसत्ता, सरकार र सम्बन्धित निकायहरू यी समस्याहरूको समाधान गर्नुको सट्टा आन्दोलनकारीहरूमाथि दमन गर्न उद्यत रहेको छ । हाम्रो पार्टी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरूको अन्तिम समाधानका लागि जनसङ्घर्षको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ ।
यस अवसरमा विभिन्न संसदीय संशोधनवादी दलहरूको भ्रममा परेका क्रान्तिकारीहरू, छरिएर रहेका ससाना समूहहरू र व्यक्तित्वहरूलाई यो ऐतिहासिक एकता प्रक्रियामा धु्रवीकृत र एकीकृत हुन आह्वान गर्दछौँ । तपाईं–हाम्रो यो एकताले नेपाली क्रान्तिको बलियो सदरमुकाम बन्नेछ र क्रान्ति सम्पन्न हुनेछ ।
मिति : १८ वैशाख, २०८०
किरण
अध्यक्ष
केन्द्रीय समिति
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल