0 COMMENTS

वैशाख १९, काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ । मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ । आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ । युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालको जितमा गुल्सन झाले अर्धशतक प्रहार गरे । उनले नटआउट ६७ रन जोड्दा भीम सार्कीले नटआउट ३६ रन जोडे । दुईबीच चौथो विकेटका लागि ९६ रनको साझेदारी भयो। त्यसअघि नेपालका दुवै ओपनरसहित कप्तान रोहित पौडेल आउट भए । कप्तान रोहितलाई १ रनमा रोहान मुस्ताफाले शून्यमा बोल्ड गरे भने विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई ८ रनमा युएईका आयान खानले एलबिडब्लू आउट गरे ।

ओपनर कुशल भुर्तेललाई १.२ ओभरमा युएईका मुस्ताफाले १ रनमा एलबिडब्लूकै धरापमा पारे । युएई ११७ रनमा अलआउट कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिँदा मंगलबारसम्मका लागि स्थगित भएको थियो । मंगलबार २७.३ बाट ब्याटिङ सुरु गरेको युएई ३३.१ ओभरमा ११७ रनमा अलआउट भयो । मंगलबार अन्तिम विकेटको रुपमा युएईका जुनइद शिद्धिकीलाई १० रनमा नेपालका ललितनारायण राजवंशीले कुशल भुर्तेलबाट क्याच गराए ।

सोमबार युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे । उनलाई आठौं विकेटको रुपमा नेपालका ललितले आरिफ शेखबाट क्याच गराए । लगत्तै अर्को बलमा ललितले जहूर खानलाई शून्यमा आउट गरे । त्यसअघि सन्दीप लामिछानेले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए । गुल्सन झाले युएईका बासिल हामिदलाई १० रनमा बोल्ड गरे ।

युएईका ओपनरद्वय मोहमद वासीम ११ रन र आर्यन लक्रा १३ रनमा आउट भए । वासीमलाई सोमपाल कामी र आर्यनलाई करण केसीले आउट गरे । यस्तै वृत्य अरिवन्द ८ रन र रमिज शाहजाद १ रनमा आउट भए । वृत्यलाई करण र रमिजलाई ललितनारायण राजवंशीले आउट गरे। रोहान मुस्ताफालाई २ रनमा सन्दीपले आउट गरे । बलिङमा नेपालका लागि ललितले ४ विकेट लिए । उनले ७.१ ओभरमा २ मेडन राख्दा १४ रन खर्चिए । सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिए भने सोमपाल कामी र गुल्सन झाले १-१ विकेट हात पारे । एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।