0 COMMENTS

वैशाख ११, काठमाडाैँ । चितवन क्षेत्र नम्बर २ मा हिजो भएको उपचुनावको मतगणना सुरु गर्न आज सर्वदलीय बैठक बस्दैछ । आज बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणनाको समय तय हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिएका छन् ।

यसअघि गएराति नै सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भए पनि बैठक बस्न सकेको थिएन । नेपाली कांग्रेसले आफूले दायर गरेको उजुरीमा छानबिन नभएसम्म मतगणना हुन नदिने जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र प्रमुख जिल्ला अधिकारीविरुद्ध दिएको उजुरीको कारबाही टुङ्गो नलगाएसम्म मतगणना हुन नदिने कांग्रेसको अडान रहेको छ ।

कांग्रेसले आचारसंहिता उल्लङ्घनमा लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारीलाई कारबाही गर्न उजुरी दिएको छ । चितवनको मतगणना चितवन उद्योग सङ्घको सभाहलमा हुने भनिएको छ ।

यसैगरी बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना पनि आज बिहानबाट सुरु हुने भएको छ । गए रातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले आज बिहानबाट मतगणना हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । ‘आज बिहान ७ बजे सर्वदलीय बैठक राखिएको छ’, उनले भने, ‘सर्वदलीय बैठकका लागि दलका प्रतिनिधि आउन थाल्नुभएको छ, बैठकलगत्तै मतगणना सुरु गर्छौं । सम्भवतः बिहान ९ वा १० बजेदेखि मतगणना सुरु गर्ने हाम्रो तयारी छ ।’ मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ । बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।