0 COMMENTS

वैशाख ९, काठमाडौँ । आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण उनले शनिबार विश्वासको मत लिनुपर्ने भएको हो । विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । प्रदेशसभाको आजको बैठकमा विश्वासको मत लिने विषयलाई कार्यसूचीमा समावेश गर्न भन्दै मुख्यमन्त्री अधिकारीले प्रदेशसभा सचिवलाई सरकारका प्रवक्ता रोशनबहादुर गाहा थापामार्फत पत्र पठाएका थिए ।

अधिकारी गत पुस २५ गते एमालेसहित, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा एमालेसहितको गठबन्धन परिवर्तन भएपछि त्यसको असर गण्डकी प्रदेशमा पनि परेको हो । गण्डकी प्रदेशमा गत चैत १० गते माओवादी केन्द्रले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारबाट हटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र स्वतन्त्र १ सांसद रहेका छन् । विश्वासको मत लिने तयारी गरे पनि संसद्को अङ्कगणित हेर्दा अधिकारीको पक्षमा बहुमत जुट्ने कम देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।