0 COMMENTS

वैशाख ८, काठमाडौँ । भोलि वैशाख ९ गते शनिबार नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ औँ वर्ष पुग्दैछ । हरेक अप्रिल २२ अर्थात् लेनिन जयन्तीका दिन नेपालका कम्युनिस्टहरुले धुमधामका साथ स्थापना दिवस मनाउने गर्दछन् । शनिबार नेकपा एमालेले कम्युनिस्ट पार्टी स्थापना दिवसको उपलक्ष्यमा पार्टी कार्यालयमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अतिथ्यमा विशेष कार्यक्रम आयोजना हुने भएको हो । यस्तै सत्ताधारी नेकपा माओवादी केन्द्रले औपचारिक कार्यक्रम नराखेको नेता डोरप्रसाद उपाध्यायले बताए । सरकारमा सहभागी भएकाले यस पटक औपचारिक कार्यक्रम नराखेको हुन सक्ने आकलन गरिएको छ । यसअघिका वर्षमा भने कम्युनिस्ट पार्टी स्थापना दिवसका बेला माओवादी केन्द्रले पनि कार्यक्रम गर्ने गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’बाट कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा विज्ञप्ति आउन सक्ने भनिएको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले शनिबार कम्युनिस्ट पार्टी स्थापना दिवसको उपलक्ष्यमा प्रदेशस्तरमा कार्यक्रम गर्ने नेता प्रकाश खतिवडाले बताए । पार्टीका शीर्ष नेताहरुलाई प्रदेशमा जिम्मेवारी दिएर भव्य कार्यक्रम आयोजना गरिएको खतिवडाले बताए । आइतबार एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डसहित पार्टीका शीर्ष नेताहरु राखेर कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउने तयारी गरेको छ । यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शनिबार १० कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु बोलाएर आमसभा गर्ने तयारी गरेको छ । काठमाडौँको खुलामञ्चमा विभिन्न १० कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु बोलाएर कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा छलफल आयोजना गरिने सो पार्टीले जनाएको हो ।

यस्तै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले केन्द्रीयस्तरमा कुनै कार्यक्रम आयोजना नगरेको नेता हरिकृष्ण गजुरेलले बताए । पार्टीको आ- आफ्नो अनुकूलतामा सबै कमिटी र जनवर्गीय संगठनले कम्युनिस्ट पार्टी स्थापना दिवसको उपलक्ष्यमा कार्यक्रम गरिने गजुरेलले बताए । आफूहरु वैशाख १८ गते धर्मेन्द्र बास्तोला नेतृत्वको पार्टीसँग पार्टी एकता प्रक्रियामा लागेकाले कम्युनिस्ट पार्टी स्थापना दिवस विशेष रुपमा मनाउन नसकिएको उनको भनाइ छ ।

अरु संसदभित्र भएका र बाहिर भएका कम्युनिस्ट पार्टीहरुले आ- आफ्नो अनुकूलतामा स्थापना दिवस मनाउने तयारी गरेका छन् । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (बहुमत) ले पनि इच्छुक प्रतिष्ठानमा कार्याक्रम गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।