0 COMMENTS

चैत २४, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले पार्टी एकता गर्ने घोषणा गरेका छन् । शुक्रबार दुबै पार्टीले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेर दुईबीच एकता गर्ने निर्णय भएको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा पार्टी एकताको आधारहरू मार्क्सवाद–लेनिनवाद–माओवादको मार्ग निर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम, वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम रहेको जानकारी दिइएको थियो ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले क्रान्तिमा बल प्रयोगको अनिवार्य भूमिका, जनवादी केन्द्रीयताको सङ्गठन सञ्चालन पद्धति, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्य लगायत पार्टी एकताका आधारहरू रहेको जानकारी दिए । ‘आजको दिन धेरै खुसीको दिन हो । हामीले धेरै लामो समयदेखि प्रयत्न गर्दै आएका थियौँ । आज हामी सफल भएका छौँ । यद्यपि यो समग्र पार्टी एकता भने होइन । तर यो पार्टी एकताको निम्ति एउटा महान् ऐतिहासिक अभियान हो’ वैद्यले पत्रकार सम्मेलना भने ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आफूहरू एकताबद्ध हन लागेको बताए । उनले विचार, सिद्धान्त र कार्यक्रम नै एकताको आधार भएको बताए । बास्तोलाले दुबै पार्टीको एकताले क्रान्तिकारी शक्तिहरुलाई एकतावद्ध गर्ने विश्वास व्यक्त गदै भने,“संसदीय व्यवस्थाका कारणले अहिले देश आक्रान्त बनेको छ। नेपाली जनता प्रताडित छन् । देशले वैकल्पिक राजनीतिक प्रणालीको माग गरेको छ। राजनीतिक व्यवस्थाको माग गरेको छ । त्यो व्यवस्था भनेको निश्चित रुपमा नयाँ जनवाद, वैज्ञानिक समाजवादबाहेक अर्को हुन सक्दैन ।”

पत्रकार सम्मेलनमा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले सबै क्रान्तिकारी कम्युनिस्ट र वामपन्थीहरू सङ्गठित भएर तेस्रो जनआन्दोलनको घोषणा गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।