0 COMMENTS

चैत ९, काठमाडौँ । नेकपा (बहुमत) बागमती उपत्यका ब्युरोले लघुवित्तको ठगी धन्दाविरुद्ध काठमाडौँमा प्रदर्शन गरेको छ । नेकपा (बहुमत) केन्द्रीय कार्यालय सदस्य तथा सङ्घर्ष समितिका प्रमुख उदयबहादुर चलाउने ‘दीपक’ को नेतृत्वमा कमलपोखरीमा लघुवित्तको शोषणविरुद्ध निस्किएको र्याली निर्धन लघुवित्तको केन्द्रीय कार्यालयअगाडि कोणसभामा परिणत भएको थियो । कोणसभामा सम्बोधन गर्दै नेकपा (बहुमत) का केन्द्रीय कार्यालय सदस्य गुणराज लोहनीले वित्तीय शोषणका विरुद्ध जारी आन्दोलनले क्रियात्मक स्वरूप लिने र लघुवित्त सञ्चालकहरूलाई कठालो समातेर सडकमा ल्याइने चेतावनी दिए । उनले लघुवित्तहरूले निर्धन जनसमुदायमाथि चर्को शोषण गरेर आत्महत्या गर्न बाध्य बनाएकाले नेकपा (बहुमत) ले आन्दोलनको माध्यमबाट जनतालाई ऋणमुक्त पार्ने उद्घोष गरे ।

नेकपा (बहुमत) बागमती उपत्यका ब्युरो इन्चार्ज एवम् पार्टीका सचिवालय सदस्य शरद रसाइलीले पार्टीले सञ्चालन गरेको लघुवित्तको वित्तीय शोषणविरुद्ध जारी आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिए । आफूहरूको आन्दोलन सशस्त्र नभए पनि सशक्त सडक सङ्घर्षबाट दलाल पुँजीवादी सत्ताद्वारा सञ्चालित लघुवित्तको शोषणबाट जनतालाई मुक्त पार्ने बताए । कार्यक्रमको सञ्चालन अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घका अध्यक्ष एवम् पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य विनोद थापाले गरेका थिए । प्रदर्शनका क्रममा लघुवित्तीय शोषणविरुद्ध चर्का नाराहरू लगाइएको थियो । प्रदर्शनमा पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्यहरू, सचिवालय सदस्य, केन्द्रीय सदस्य, जवस मोर्चाका पदाधिकारी, कार्यकर्ता र लघुवित्तपीडितहरूको उल्लेख्य सहभागिता थियो । पार्टीले लघुवित्तको शोषणका विरुद्धको देशव्यापी आन्दोलन जारी रहेको र अझ उचाइका साथ अघि बढ्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।