0 COMMENTS

फागुन २१, पोखरा । नेकपा (बहुमत) का संयोजक कञ्चनले अमेरिकाका राष्ट्रपति आएर नेपालमा शासन गरे पनि नेपाल अमेरिकाजस्तो नहुने बरु अमेरिकाचाहिँ नेपालजस्तो जर्जर हुने बताएका छन् । नेकपा (बहुमत) कास्कीले आयोजना गरेको राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रशिक्षण दिँदै पार्टी संयोजक कञ्चनले नेपालको राज्यव्यवस्था नै दलाल भएकाले अमेरिकी राष्ट्रपति जो बाइडेन वा अरू विकसित भनिएका देशका प्रमुख नै आए पनि नेपालको राजनीतिक, आर्थिक व्यवस्था परिवर्तन नहुने बरु अझै उल्टो दिशातिर लाग्ने भएकाले वैज्ञनिक समाजवादी क्रान्तिको दिशातर्फ अग्रसर हुन पार्टी नेता–कार्यकर्तालाई उत्प्रेरित गरे ।

नयाँ जनवादी क्रान्तिसहित वैज्ञानिक समाजवादी क्रान्तिले मात्र नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हुने प्रस्ट पार्दै प्रमुख अतिथि कञ्चनले क्रान्तिका लागि आठ तयारी भइरहेको बताए । सङ्गठन साहस र सिर्जनशीलता पनि रहेको भन्दै संयोजक कञ्चनले मालेमावादी क्रान्तिकारीहरूबीचको एकता र ध्रुवीकरण प्रक्रिया अघि बढेकाले त्यसले क्रान्ति र विजयको वातावरण निकट ल्याएको प्रस्ट पारे ।

नेकपा (बहुमत) का केन्द्रीय कार्यालय सदस्य दीपकले वैज्ञानिक समाजवादी क्रान्ति सफल पार्न भइरहेको मालेमावादी क्रान्तिकारीहरूबीचको एकता र ध्रुवीकरणको पहल सफलताको दिशातर्फ अग्रसर भइरहेको बताए । प्रचण्ड–बाबुरामदेखि विप्लवसम्मले देश, जनता र श्रमिक–सर्वहारा वर्गका लागि लड्ने शक्तिको अपमान र विघटन गरेको सन्दर्भ राख्दै नेता दीपकले अन्यायपूर्ण र बलपूर्वक दमनको सहाराले टिकेको दलाल पुँजीवादी राज्यसत्तालाई जनताको बलले नै परास्त गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् कास्की जिल्ला इन्चार्ज गोकुल पराजुलीले पार्टीको चौथो पूर्ण बैठकका ऐतिहासिक निर्णयहरूको भावसहित सुरुमै पार्टी संयोजकको उपस्थितिमा राजनीतिक वैचारिक प्रशिक्षण आयोजना गर्न पाउनु खुसीको कुरा रहेको बताएका थिए । उनले प्रशिक्षणका विषयहरू पनि प्रस्तुत गरेका थिए ।

पार्टी जिल्ला इन्चार्ज बद्री अधिकारीको अध्यक्षता र रवीन्द्रको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा (बहुमत) का सचिवालय सदस्य एवम् गण्डक ब्युरो इन्चार्ज रूपेश, कास्कीका सल्लाहकार पूर्ण ढुङ्गाना, धनबहादुर, केन्द्रीय प्रचार ब्युरोका संयोजक अशोक सुवेदी, राकेश, अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका महासचिव सागर अर्याल, पार्टी जिल्ला समितिका सदस्य र जवस मोर्चाका प्रमुखहरू उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।