0 COMMENTS

पुस १५, काठमाडौँ । आज गुरुङ समुदायको नयाँ वर्ष अर्थात ‘तमु ल्होसार’ पर्व । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ । हरेक १५ पुसमा गुरुङ समुदायले नयाँ वर्ष मनाउँछन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु ल्होसारका अवसरमा आज (शुक्रबार) सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

तमु भन्नाले गुरुङ र ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । यो पर्व गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन् । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको नेपालको धेरै जिल्लाहरुमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

साथै नेपालमा गुरुङसँगै तामाङ, शेर्पा लगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन् । तर, उनीहरुले मनाउने ल्होसारको नाम भने फरकफरक छ । तामाङहरूले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ भने शेर्पा समुदायले मनाउने ल्होसारलाई ग्याल्बो ल्होसार भनिन्छ । यसै अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डले गुरुङ समुदायलाई शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।