0 COMMENTS

कात्तिक ५, भक्तपुर । नेपालीहरुको दोस्रो महान चाड तिहार आउन अझैँ केही समय बाँकी छ । तर, तिहार आउन नपाँउदै पटाका पड्काउने, झिलीमिली टांग्ने, जुवातास खेल्ने क्रम शुरु भइसकेको छ । यता, दशैंमा घर जान नपाएकाहरु तिहारमा घर जाँदै छन् । कलकी, बल्खु, गौशाला, चाबहिल, कोटेश्वर, जडीबुटीलगायतका स्थानमा घर जानेको संख्या उल्लेखीय देखिन्छ । आफ्नो दिदीबहिनीको हातबाट टीका लगाउन पनि यहाँबाट धमाधम आफ्नो घर फकिर्दैछन् ।

पछिल्लो केही दिनयता बजारमा अत्याधिक भीड देखिन्छ । बजारमा किनमेल गर्नेको संख्या ह्वात्तै बढेको छ । जतापनि तिहार लक्षित सामग्री बेच्न थालिएको छ । जताततै तिहारको रमझम शुरु भएको पाइन्छ । तर, तिहार मनाउने नाममा दशैंमा जस्ता अप्रिय घटना भने कसैसँग पनि नघटोस् । कतिको कोठामा चोरी भयो । यता, दशैं मनाउन गएका गाडी दुर्घटनामा पर्दा सदाका लागि बिदा भए ।

यातायात व्यवसायीले सीट क्षमताभन्दा बढी यात्रु हाल्दा धेरै ठाँउमा दुर्घटना भयो । यात्रुले सहज र सुरक्षित यात्रा गर्न पाएनन् । गाडीमा सीट नपाँउदा उठाएरै जान बाध्य भए । यता, थोत्रा गाडीले बढाएको जोखिम पनि उत्तिकै थियो । दुई दशक नाघेका सवारी साधन चलाउँदा पनि ट्राफिक प्रहरी महाशाखाले अनुगमन गरेन । गृह मन्त्रालयले सडक र यातायात सुरक्षाका लागि कमिटी गठन गर्यो ।

तर, कमिटीले सोचेअनुरुप काम गर्न सकेन । सरकारले सवारी साधनको यान्त्रिक परीक्षण चेकजाँच गरेर मात्र चलाउन दिने भनेको थियो । यता ट्राफिक प्रहरीहरुले परीक्षण गर्न हेलचेक्य्राई गरे उता दुर्घटनामा परेर दशैं मनाउन गएका जनता मरे । दशैंको समयमा सरकारबाट ठूलो लापरबाही भयो । तिहार नजिकिँदै छ, अब पनि यस्तो घटना नदोर्होरियोस् । तिहारको बेलामा समाजलाई नपच्ने खालका गतिविधिहरु हुने गरेको छ ।

रातभर देँउसीभैलो खेल्छन् जसको कारण एकदमै होहल्ला हुने गरेको छ । यता, बाटो हिँड्नेलाई तर्साउने गरी पटाका पडकाउछन् । जाडरक्सी खान्छन्, जुवातास खेल्छन् अनि अरुलाई डिस्टर्ब गर्छन् । तिहार नलाग्दै सडकभर झिलीमिली टाँगेको देख्न सकिन्छ । यो एकदमै जोखिमपूर्ण कार्य हो । सवारी चालकको आँखा झिलीमिलीतिर जान्छ । यता, सवारी साधन गएर ठोक्किसक्छ ।

सरकारले बेलैमा यी कार्यमा रोक लगाउनुपर्छ । देँउसीभैलो रातको समयमा खेल्न नदिने भनेर गृहले अझै पनि सम्पुर्ण जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छैन । बिहान ७ बजेपछि बेलुका ६ बजेसम्म मात्र देउँसीभैलो खेल्ने व्यवस्था मिलाउन जरुरी छ । पहिलेपहिले देँउसीभैलो हाम्रो संस्कृतिलाई कायम राख्नका लागि खेलिन्थ्यो । तर, अहिले यो कमाउन भाडो बनेको छ ।

व्यापारीहरुको घरमा गएर नाँचगान गर्ने अनि टन्न पैसा उठाएर लैजाने । यो समाजमा पछिल्लो समय देखिएको बेतिथि हो । कलाकारहरुले समेत जथाभावी गीत बनाएका छन् । यसले पनि समाजमा विकृति मौलाएको छ । जस्तो मनलाग्यो त्यस्तै गीत बनायो । अहिले त पैसा नभएको घरमा देँउसीभैलो खेल्न कोही पनि आँउदैनन् । पहिले नै बुकिङ गरेर देउँसी भैलो खेल्ने गरेको पाइन्छ ।

देँउसीभैलो रमाइलोका लागि होइन, पैसाका लागि खेलिन्छ । शुरुमै कति पैसा राख्छन्, त्यो हेरिन्छ । यता, देँउसीभैलो खेल्ने क्रममा जथाभावी शब्दको प्रयोग गर्ने क्रम बढेको छ । कलाकार, समाजसेवी, अधिकारकर्मीहरुसमेत ठूल्ठूला नेता र व्यापारीको घरमा नाँच्न गाउन गइरहेको देखिन्छ । चाड पैसाकै लागि मात्र खेल्नेजस्तो गर्छन् । यता, राज्यको चौथो अंग भनिएका पत्रकारहरु पनि नेता र व्यापारीको घरमा देँउसीभैलो खेल्ने गएको पाइन्छ ।

छिनको रमाइलोले देशलाई कति घाटा लागेको छ ? पत्रकारहरु नेता र व्यापारीको घरमा गएर देँउसीभैलो खेल्छन्, त्यहाँबाट पैसा लिन्छन् । अनि त्यो नेता र व्यापारीको विरोधमा पत्रकारले कलम चलाउन सक्छन् ? कालोबजारी गर्ने व्यापारी र भ्रष्टाचार गर्ने नेताको घरमा यसरी देँउसीभैलो खेल्न जाँदा पत्रकारकै शाखमाथि दाग लाग्छ । अहिलेका कलाकारको कुरा गरिसाध्य छैन, तर पत्रकार त मुलुककै ऐना हो ।

पत्रकार नै यसरी हिँडेपछि अवैध धन्दा चलाउनेहरुको विरोधमा कसले लेख्ने ? आवाजविहिनको आवाज पत्रकार कहिले पनि नेता र व्यापारीको पछाडि लाग्नुपर्छ । यता, कलाकारहरुले पनि देशको बारेमा धेरै सोच्नुपर्छ । चाडबाडको गीत भनेको छ तर सुन्न सक्ने खालको छैन । जथाभावी कपडा लगाउँछन्, फोहोरी शब्दको प्रयोग गर्छन् यस्ता कलाकारबाट देशले के सिक्ने ?

त्यस्तै, तिहारको भनेर दिनरात जुवातास खेलेर समय खेर फाल्नेहरु पनि यत्तिकै छन् । कतिले आफ्नो घरखेत नै दाउमा राखेर समेत जुवातास खेल्छन् । यो पनि एक किसिमको विकृति नै हो । तिहारमा राम्राभन्दा पनि नराम्रा गतिविधि बढेका छन् । विकृति बढ्यो, जसले हाम्रो संस्कृति नै धरापमा परेको छ । संस्कृति जगेर्ना गर्न होइन उल्टै बिगार्नतिर नेपालीहरु लागिपरेका छन् ।

पछिल्लो समय भाइटीका पनि पैसा हेरेर लगाइन्छ । दिदीबहिनीलाई टन्न पैसा दियो भनेर मख्ख परेर टीका लगाउन जान्छन् । तर, थोरै पैसा दियो भने टीका नै लगाइदिँदैनन् । पैसा नहुने दाजुभाइको निधार नै खाली रहने अवस्था आयो । आफुले लगेको सामानको दोब्बर उठाउन खोज्छन्, दिदीबहिनी । दिदीबहिनी भएर के गर्नु पैसा छैन भने चाड पनि छैन । दाजुभाइलाई टीका मात्र लगाइदिए पनि भइहाल्छ नि ।

तर, त्यस्तो सोच्ने चलन हराँउदै गएको छ । जसको कारण हाम्रो संस्कृति नै जोखिममा परेको छ । दाजुभाइले मलाई यो सामान चाहियो भनेर जबजस्ती ल्याउन भनेका हुँदैनन् । आफैं सामान किनेर ल्याउँछन् अनि दोब्बर असुल्न खोज्छन् । दाजुभाइले आफ्नो गच्छअनुसार रकम दिने हो । तर, त्यस्तो सोच्न छाडिएको छ । आफ्नो खर्च नउठ्ने भएपछि दिदीबहिनीहरु विभिन्न बहाना बनाएर टीका लगाइदिन जाँदैनन् ।

चाडबाड पनि खरिदबिक्री हुन थाल्यो । जसले गर्दा आफ्नै दिदीबहिनी, दाजुभाई हुँदाहुँदै बनावटी बनाउन थालिएको छ । पैसा हुनेलाई दाजुभाइ र दिदीबहिनी बनाउने प्रवृत्ति बढेको छ । धनीलाई समात्ने अनि दाजुभाइ बनाउने । यस्तो बेतिथि समाजमा देखिन थालेको छ । पहिलेपहिले दुई दिनको बाटो यात्रा गरेर दिदीबहिनीहरु टीका लगाउन माइती पुग्थे । तर, अहिले त दाजुभाइलाई आफ्नो घर बोलाउँछन् ।

जानआउनको झण्झट पनि नहुने । यता, दाजुभाइलाई आफ्नो घरमा बोलाएर टीका लगाइदिने अनि दानमा दिएको सामान पनि आफै खाइदिने । यस्तो पनि नैतिकता हुन्छ ? केही वर्ष अघिसम्म दाजुभाइलाई खुवाउनका लागि चामलसमेत घरबाटै बोकेर दिदीबहिनीहरु माइती पुग्थे । तर, अहिले त ठ्याक्कै त्यसको उल्टो छ । चाडबाडको नाममा देखासिकी गर्ने चलन दिएको छ ।

तिहारमा लाखौंको उपहार दिन थालिएको छ । कसैले महँगा कपडा दिन्छन्, कसैले गरगहना । कतिले सवारी साधन खरिद गरेरसमेत दिन्छन् । आफ्नो कारणले समाजलाई कति असर परेको छ, त्यो हेर्दैनन् । एउटै घरकी दुईटी बुहारीमा समेत धनी र गरिब हुन सक्छन् । एउटीले धेरै र अर्कीले कम ल्याएपछि घरभित्रै पनि विद्रोह चल्छ । झैझगडा हुन्छ । गएको ज्याला पनि उठ्दैनन् भनेर घरबाट टीका लगाउनै रोकिदिन सक्छन् ।

सरकारले त धनीले टीका लगाउने, गरिबले लगाउन नपाउने नियम बनाएको छैन । तर, हाम्रो समाजको नैतिकता नै त्यस्तो छ । अर्कोले कति दियो भनेर खुबै चासो हुन्छ । दिदी बहिनीहरुले लगानी गर्नुअगावै खर्च उठ्छ कि उठ्दैन सोच्छन् । जसका कारण दाजुभाइले टीका लगाउने इच्छा हुँदाहुँदै विभिन्न बहाना बनाएर निधार खाली राख्छन् । वर्षदिनको चाड हो, सँगै बसेर दुःखसुःख साटौँ पनि भावना छैन ।

वर्षदिनमा माइती जाँदा आफ्ना बाबुआमा भेटिन्छन् । टीका लगाउने व्यापारजस्तो भएको छ । यता, घरमा पनि कति पैसा दियो ? ज्याला उठ्यो कि उठेन ? भनेर सोधीखोजी गर्छन् अनि विकल्प नै बाँकी हुँदैन । आफ्नो चाडबाड जोगाउन सबै जना आआफ्नो ठाँउबाट जिम्मेवार हुनुपर्छ । चाडबाडलाई व्यापार बनाउने काम बन्द गरौं ।

पैसा नहुनेको निधार खाली नरहोस् । सरकारले समाजलाई सुधार्न बेलैमा ध्यान पुर्याउन जरुरी छ । चाडबाडमा भड्किलो खर्च गर्न दिनुहुन्न । ऋणधन लिएर चाडबाड मनाउने क्रम बढेको छ, यो यही रोक्न सकेन भने यसले ठूलो क्षति पुर्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।