0 COMMENTS

कात्तिक १०, भक्तपुर । आज तिहारको सबैभन्दा विशेष दिन भाइटीका हो । बिहानैदेखि आज बजारमा चहलपहल शुरु भएको छ । आफ्नो दाजुभाइलाई टीका लगाउनका निम्ति सामान जुटाउनमा व्यस्त छन्, दिदीबहिनी । फलफुल, मिठाइ, किराना सबैतिर चर्को भीड छ । यसपटक पोहोरभन्दा सामानको भाउमा निकै मूल्यवृद्धि भएको पाइन्छ । उपभोक्ताहरु सामान छुन नसक्ने भएछ भन्दै गुनासो गरिरहेको पाइयो ।

हरेक सामानको भाउ बढेको छ । आजलाई विशेष चाहिने भाइमसला त झनै आकाशिएको छ । गत वर्ष दुईमा पाउने सामान अहिले पाँच सयमा किन्नुपरेको उपभोक्ताहरुको भनाइ छ । व्यापारीहरुले जथाभावी रेट राखेर सामान बेच्दा पनि सम्बन्धित निकाय भने मौन छ । पसलपिच्छे सामानको मूल्यमा फरक पाइन्छ । चाडपर्व भनेर व्यापारीहरु ग्राहक ठग्नमा उत्रिएका छन् ।

बजार अनुगमन नहुँदा उपभोक्ताहरु थप मर्कामा परेका छन् । साइत हेरेर अनुगमन गर्ने सरकारको प्रवृत्तिका कारण चाडबाड मनाउन नसक्ने अवस्था आएको उपभोक्ताहरुको गुनासो छ । मँहगीले सीमा नाघ्दा गरिबले चाडबाड मनाउन नसक्ने स्थिति सिर्जना भएको छ । सामानमा अत्याधिक मूल्यवृद्धिले जनतालाई बिहानबेलुकाको छाक टार्न पनि महामुश्किल बनाएको छ ।

बजार अनुगमन हुन नसक्दा चाडपर्व नै संकटमा परेको छ । माछामासु, दुध, दहीमा पनि मनलाग्दी छ । मासु पसलेले आफूखुसी रेट राखेर मासु बेचेको छ । अन्य बेला भन्दा मासुमा दुई तीन सयको फरक पाइन्छ । यता, मासु पसल पनि सफा सुग्घर छैनन् । भ्याइनभ्याइ छ भन्दै मासु पसलेले राम्ररी सफा नगरेको मासु बचिरहेका छन् । राँगा भनेर भैसी, खसी भनेर बोकाको मासु बेच्ने चलन त हामी कहाँ पहिलैदेखि छ ।

कहिले काटेको मासु फ्रिजमा राखेर बेचिरहेका छन्, पसलेहरुले । यता, मासु पसलेले लिइरहेको रेट सरकारले तोकेको पनि होइन्, उनीहरुको महासंघले निर्धारण गरेको हो । अहिले बजारमा एक केजी खसीको मासु १३ देखि १५ सय छ । मरेको कुखुराको मासुसमेत पनि बिक्रीवितरण भइरहेको छ । अनि खोइ त अनुगमन ? मासु खानयोग्य छ कि छैन् सरकारले नियमन गर्दैन् ।

सरकारले बनाएका मापदण्डहरु मासु पसलेले पूरा गरेका छैनन् । यता, तौलमा समेत पसलेले ठगिरहेको छ । वेटिङ मेशिन र ढक तराजु मिलाएर ठग्न यिनलाई कसले भ्याउने ? दुध, दही पसलेले पनि आफ्नो खुशअनुसार पैसा लिइरहेको छ । आज सबैभन्दा बढी भीड मिठाइ पसलमा देखिन्छ । भाइटीकामा विशेषतः दिदीबहिनीले मिठाइ र भाइमसला दिने गर्दछन् । मिठाइ पसलमा पनि उस्तै लुटको धन्दा मच्चिएको छ ।

सबैभन्दा बढी कमाउने मौका यही हो भनेर मिठाइ पसलेहरु ठग्नमा तुलिएका छन् । गत वर्षभन्दा मिठाइको भाउ पनि धेरै बढेको पाइन्छ । एकातिर भाउ बढाएका छन् अर्कोतिर सफा सुग्घर पनि न्यून छ । मानिसको स्वास्थ्य हानी गर्ने केमिकलहरु मिसाएर गुणस्तरहीन मिठाइ बनाएका छन् । जसले गम्भीर रोग निम्त्याइरहेको छ । पैसा तिरेर किन्नु छ तापनि स्वास्थ्यलाई हानिकारक ।

मिठाइ पसलहरु पनि एकदमै फोहोर छ । पसले पनि त्यस्तै फोहोरी छन् । मिठाइ पनि छोपेर राखेको पाइदैन् । झिँगा, भुसुना भन्किरहेका छन् । फलफुल, हरिया तरकारीहरुको भाउ पनि आकाशिएको छ । प्रति किलो दुई सय रुपैयाँ घटीको कुनै तरकारी नै छैन् । अनि जनताले के खाने ? सरकारले बजार अनुगमन नगरेर जनतालाई मर्न बाध्य बनाइदियो । व्यापारीहरुले रातारात घर बनाउने सपना देखेका छन् ।

यतिखेर व्यापारीहरुले लुट मच्चाएका छन्, जसमा जनता पिल्सिएका छन् । आजका दिन दाजुभाइलाई नदिई नहुने सामग्री भनेको भाइमसला हो । तर, भाइमसला यति मँहगिएको छ, कुरा गरिसाध्य छैन् । काजु, किसमिस, बदाम, पिस्ता, ओखरलगायत अन्य सामग्री छोइनसक्नु भएको छ । भाइमसला मँहगिँदा चेलीबेटीहरुलाई तनाव भएको छ । दुई तीन हजार रुपैयाँ खर्च गर्दा पनि एउटा ढंगको मसला आँउदैन् ।

प्याकेटको मसलाभित्र सबै कुहिएका सामानहरु मात्र प्याक गरिएका छन् । तिहार भनेको फुलको पर्व हो । तिहारमा सबैतिर फुल सजाइएको हुन्छ । यता, दाजुभाइलाई टीका लगाइदिएर माला लगाइदिने गरिन्छ । यसपटकको तिहारमा फुलको भाउ पनि अत्याधिक मँहगो भएको छ । नेपाली फुल समयमा नफुल्दा र बाहिरबाट आयात गर्नुपरेको बहानाबाजी गर्दै व्यापारीहरुले फुलमा ठगेका छन् । पाँच थुँगा फुलको एक सय रुपैयाँ तिर्नुपरेको छ ।

यता, माला त हेरीहेरी दुईदेखि चार हजार रुपैयाँसम्मको छ । किराना सामान पनि पनि अत्यन्तै चर्को छ । चामल, दाल, तेल, पिठोलगायत अन्य खाद्यान्न सामानको भाउ आकाशिएको छ । सरकारले हरेक सामानको रेट तोक्ने अधिकार निजी क्षेत्रलाई दिँदा जनताहरु मारमा परेका छन् । व्यापारीले भाउ बढाएको बढाएकै छन्, राज्य निरीह भएर हेरेर बसेको छ ।

व्यापारीहरुले राज्यको ऐनकानून नमानेर जथाभावी लुट मच्चाउदा पनि सरकार मौन छ । सामान बेचेका छन्, बिल दिँदैनन् । सामान किनेपछि बिल पाउनु उपभोक्ताको अधिकार हो । तर, आफ्नै अधिकारबाट उपभोक्ताहरु वञ्चित भएका छन् । व्यापारीले जथाभावी मूल्य राखेर सामान बेच्दा पनि किन्नुपर्ने बाध्यता छ । सरकारले उजुरी गर्ने ठाँउको समेत व्यवस्था मिलाइदिएको छैन् ।

यसो हेर्दा सरकार नै व्यापारीको पक्षमा छ जस्तो देखिन्छ । यतिखेर उपभोक्तावादी भनिएका ज्योत बानियाँ, प्रेम महर्जनहरु पनि सुस्ताएका छन् । जताबाट पैसा आँउछ उतै टाँसिने यस्ता नामका उपभोक्तावादीहरुबाट अपेक्षा राख्नु पनि के नै छ र ? पैसा आएसम्म यिनीहरु पनि चुप लाग्छन् । जब पैसा आउन छोड्छ त्यसपछि तातिन्छन् । जसले पैसा दिँदैन् यसको विरोधमा खोइरो खन्छन् ।

राजनीतिक पार्टीका झोलेहरुले छिनका लागि कराएर बजारमा केही सुधार भएको छ ? पोहोर अलिकति भएपनि कराएझैं गरेका थिए, योपालि त त्यति पनि गरेनन् । उपभोक्तावादी भन्दै व्यापारीसंग पैसा उठाएर यिनीहरुले करोडौंको सम्पत्ति जोडेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शुद्धिकरण विभागले यिनीहरुको सम्पत्ति छानबिन गरेको छैन् ।

यिनीहरुकै संरक्षणमा जनता ठग्ने व्यापारीलाई कारबाही हुन सकेको छैन् । आज तिहारको अन्तिम र विशेष दिन भाइटीकामा चोकचोकमा भीड देखिन्छ । गाडी पनि न्यून मात्र चलेको छ । यही मौैका छोपेर ट्याक्सी र पठाओको ठगीधन्दा शुरु भएको छ । बसस्टपमा झोला बोकेर गाडी कुरिरहेकी दिदीबहिनीको चाप एकदमै धेरै छ । यता, ट्याक्सी पनि बिहानैदेखि प्याक छ ।

टीका लगाउने जाने दिदीबहिनीहरुलाई सवारी साधनले धेरै सास्ती भएको छ । हातहातमा झोला भएकाले सार्वजनिक यातायातमा लैजान सक्ने अवस्था छैन् । आज धेरै जनालाई ट्याक्सीको खाँचो पर्छ । त्यसमाथि पनि अधिकांश महिला छन् । बसले घरघरसम्म नपुर्याइदिने भएकाले ट्याक्सी नै अन्तिम विकल्प हो । उपत्यकामा ट्याक्सीको खोजी बढेको छ ।

अघिपछि त मिटरमा नहिँड्ने, यात्रुले भनेको ठाँउमा नजाने ट्याक्सीको रजाँइ आज अझ बढी छ । एक किलोमिटरमै हजार रुपैयाँसम्म माग्छन् । भक्तपुरको सुर्यविनायक चोकमा बिहानै ट्याक्सीको खोजी गर्ने महिलाहरुको हुल देखिन्थ्यो । अन्य समय चोकमा ट्याक्सी पार्क गरेर राखेको देखिन्थ्यो । आज एउटा पनि ट्याक्सी थिएन् किन कि बिहानैदेखि चालकलाई भ्याइनभ्याइ छ ।

कुनै काँडाघारी, कुनै अनामनगर त कुनै बनेपा । कोही सातदोबाटो त कोही कपन जान निस्किएका थिए । बल्लतल्ल आधा घण्टापछि दुई वटा ट्याक्सी आयो । भएजति सबै त्यही दुई वटा ट्याक्सीतिर होमिए । चालकले मिटरमा यात्रु लैजानुको साटो पैसाको बार्गेनिङ गर्न शुरु गरे । सुर्यविनायकबाट कपन भएको तीन हजार मागे, चालकले । यात्रुले दुई हजार दिन्छु भनिन् । अन्तिममा २५ सयमा कुरा मिल्यो ।

सुर्यविनायकबाट कपन बढीमा १० किलोमिटर होला । सरकारले निर्धारण गरेको भाडाअनुसार ट्याक्सी चल्ने हो भने प्रति किमि ५० र सेवाशुल्क ५० रुपैयाँ छ । यता, पठाओमार्फत ट्याक्सी बुक गर्यो भने शुरुमा १७७ रुपैयाँ तिर्नुपर्छ । पठाओले यसरी ठगिरहेको छ । सुर्यविनायकबाट अनामनगर लगेको पनि चालकले २५ सय मागे । यात्रुले १५ सय भनेपनि अन्तिममा दुई हजारमा कुरा मिलाएर जानुपर्यो ।

अरु हेरेको हेप्यै भए । ट्याक्सी नपाएपछि निजी प्लेटको गाडीमा जानुपर्ने बाध्यता भयो । निजी प्लेटको गाडीले बनेपा जानका लागि तीन हजार मागे । आज त सबैतिरबाट सर्वसाधारण ठगिए । अरु सामान पनि त्यस्तै मँहगो, ट्याक्सी भाडा पनि उस्तै । अब भाइटीका लगाउन नसक्ने अवस्था बन्यो । दाजुभाइले टीका लगाएर दिएको पैसा ट्याक्सी भाडा तिर्न पनि पुग्दैन् ।

ट्राफिक प्रहरीले कडाइ गरेको पनि पाँइदैन् । मिटरमा नहिँड्ने ट्याक्सीलाई ट्राफिक प्रहरीले कारबाही गरेका छैनन् । चालकले मोलमोलाई गर्दा ट्राफिक प्रहरी हेरेर बस्छन् । कारबाही नगर्दा चालकको दादागिरी बढ्दै गयो । जनताले तिरेको करबाट तलब खाने ट्राफिक प्रहरीकै कारण चालकमा जनता ठग्ने मनोबल बढेको हो । ट्याक्सी व्यवसायीको अगाडि ट्राफिक प्रहरी महाशाखा निरहि बनेको हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।