0 COMMENTS

कार्तिक ४, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले सबै कम्युनिस्टहरुलाई संसदीय व्यवस्थाका विरुद्ध सडकमा आउन आव्हान् गरेका छन् । बुधबार पोखरामा नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र माओवादी कम्युनिस्ट पार्टी, नेपालले आयोजना गरेको संसदीय चुनाव अवज्ञा/बहिष्कार कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनले यो व्यवस्थामा हुने चुनावले भ्रस्टाचारी, कालाबजारी, शिक्षाका माफिया, राष्ट्रघाती, जनघाती र विदेशी दलालहरुलाई जिताउने भएकाले यस चुनावलाई सबै जनतालाई अवज्ञा गर्न अपील गरेका हुन् ।

यो दलाल संसदीय व्यवस्थाको विशेषता नै हो । त्यसैले हामीले यो चुनाव अवज्ञा गर्ने नीति लिएका छौँ । हामीले देशमा राजनीतिक स्थिरता, समृद्धि, सामाजिक रुपान्तरण, शान्ति र स्वाधिनताका लागि स्वाधिन संयुक्त सरकार निर्माण गर्दै नयाँ जनवादसहितको वैज्ञानिक समाजवाद स्थापना गर्न संघर्ष गर्दै छौँ । यो चुनावपछि हामी सडकमा जानेछौँ । यदि प्रचण्ड, केपी ओलीहरु साँच्चै समाजवाद चाहन्छन् भने सडक आउनु पर्दछ कञ्चनले भने ।

पोखराको चिप्लेढुङ्गाबाट हजारौँ जनताको उपस्थितिमा शुरु भएको जुलुस पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो । उक्त सभामा नेकपा (क्रान्तिकारी माओवादी) का कार्यबहाक महासचिव सीपी गजुरेल, नेकपा (मशाल) का प्रतिनिधि विमल शर्मा र माओवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव रामनारायण पालले सम्बोधन गरेका थिए । गोकुल पराजुलीले सञ्चालन गरेका, केशबहादुर नेपालीले सभापतित्व गरेका र नेकपा (मशाल) का बिक्रमले स्वागत भाषण गरेको उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।