0 COMMENTS

असोज १०, काठमाडौं । आज घटस्थापना अर्थात नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ । आज बडा दशैँको पहिलो दिन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार घटस्थापनाको साइत बिहान १० बजेर २३ मिनेटमा उत्तम साइत रहेको छ । विधिपूर्वक घट अर्थात घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

त्यस्तै आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा सुरु हुने गर्छ। बिहानी नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोपिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ ।

विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ । जमराको जुस विभिन्न रोगमा औषधिको रुपमा खाने गरिएको छ ।

आजैदेखि नवरात्र सुरु हुन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भिड लाग्ने गर्छ ।

यसैबीच दशैं सुरु भएसँगै घर फर्किन थालेका छन् । काम तथा रोजगारी र पढाईबाट घरभन्दा टाढा रहेकाहरु फर्किन थालेका हुन् । कामको खोजी गर्दै विदेशीएकाहरु पनि घर फर्किन थालेका छन् । नेपाल भारत सीमा क्षेत्र र एयरपोर्टमा मानिसहरुको बाक्लो भिड छ भने लामो दूरीका सवारी साधान पनि भरिभराउ भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।