0 COMMENTS

भदौ ६, दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दार्चुला–बैतडी–बझाङ जिल्लाको संयुक्त राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन गरिएको छ ।

दार्चुलाको खलङ्गामा अभियान उद्घाटन गर्दै पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् दार्चुला जिल्ला इन्चार्ज प्रकाश थापाले दलाल सरकार देश बेच्न तयार भएकाले राष्ट्रियताको रक्षाका लागि बलिदान गर्न तयार रहेको बताए । उनले राष्ट्रघाती कार्यको डटेर सामना गर्नुपर्ने धारणा राख्दै राष्ट्रघाती एमसीसी सम्झौता र नागरिकता विधयेक संसद्बाट पास गरेर सरकारले गम्भीर राष्ट्रघात गरेकाले देश बचाउनका लागि देशभक्त र क्रान्तिकारीहरूले बलिदान दिन तयार हुनुपर्ने बताए ।

थापाले जयसिंह धामीलाई भारतीय साम्राज्यवादले तुइन काटेर हत्या गर्दासमेत नेपाल सरकारले त्यसका विरुद्ध बोल्न नसक्नु भनेको निरीह र लाचारीको पराकाष्टा भएको पनि बताए ।

युवा जनस्वयम्सेवक नेपाल सेम संयोजक लोकेश धामीले युवा क्रान्तिकारी शक्ति भएकाले देशमा भैराखेको भ्रष्टाचार, विकृति र विसङ्गतिका विरुद्ध डटेर सामना गर्नुपर्ने धारणा राख्दै भ्रष्टहरूलाई जनकारबाही गरिने बताए ।

दार्चुला जिल्लाको सदरमुकाम खलङ्गामा उद्घाटन गरिएको अभियान २ महिनासम्म सञ्चालन हुने र बैतडी हुँदै बझाङ जिल्लामा गएर समापन हुने जानकारी युवा जनस्वयम्सेवकका केन्द्रीय सदस्य नरेन्द्र जोशीले दिए । कार्यक्रमको सञ्चालन नेकपा (बहुमत) दार्चुला जिल्ला संयोजक विजय लेखकले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।