0 COMMENTS

साउन ३०, बाँके । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता सुदर्शनले वर्तमान संसदीय व्यवस्था आर्थिक र राजनीतिक दृष्टिले निकै जर्जर बन्दै गएको र यो एकपछि अर्को देशघाती र जनघाती बन्दै गएको बताएका छन् । आइतबार कर्णाली ब्युरोको आयोजनामा बाँकेको नेपालगञ्जमा पत्रकार भेटघाटमा देशको समसामयिक परिस्थितिका बारेमा मन्तव्य राख्दै उनले विदेश जाने श्रमशक्ति कुनै पनि कारणले रोकिने स्थिति भएमा देशको अवस्था भयावह हुने बताए । साथै उनले देशको वैदेशिक व्यापारघाटा करिब १७ खर्ब रहेको, कुल गार्हस्थ उत्पादनबाट दुई खर्ब मात्र पूर्ति हुने, सबभन्दा ठूलो हिस्सा वैदेशिक रोजगारको विप्रेषणबाट आपूर्ति हुने स्थिति देशको आर्थिक भविष्यको निकै खतरनाक स्थितिको पूर्वसङ्केत भएको बताए ।

प्रवक्ता सुदर्शनले भने, ‘बैङ्क पुँजीको ४७ खर्ब डिपोजिटअन्तर्गत एक सयजना व्यक्तिले मात्रै ३० खर्ब परिचालन गरेको तथ्य सार्वजनिक भएको छ जब कि बाँकी १७ खर्ब रकम १८ लाखले परिचालन गर्ने स्थिति छ भने यो कस्तो खालको अर्थप्रणाली हो ?’ उनले यो सत्ताको विकल्प प्रस्तुत गर्दै भने, ‘यो अवस्थालाई समाधान गर्न वर्तमान संसदीय व्यवस्थाबाट असम्भव छ । यसको समाधान वैज्ञानिक समाजवाद स्थापनाबाट मात्र सम्भव छ । त्यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गर्नेछ । त्यसका लागि हाम्रो पार्टीले संसदीय व्यवस्थाको विकल्पमा स्वाधीन संयुक्त सरकारको प्रस्ताव गरेको छ । स्वाधीन संयुक्त सरकारले शिक्षा, स्वास्थ्य, आवास, जमिन र रोजगारीको सुनिश्चितता गर्नुपर्दछ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र न्यायपालिकाको व्यवस्था हुनुपर्दछ ।’

लघुवित्तहरू र मिटरव्याजीहरूले पनि जनताको रगतपसिना चुसिरहेको प्रवक्ता सुदर्शनले बताए । राष्ट्रियता, जनतन्त्र र जनजीविका विषयहरू दिनदिनै जर्जर बनिरहेको भन्दै उनले राज्यसत्ता पूर्ण असफल भएको सपष्ट पारे । सरकारले आफ्नो पार्टीसँग गरेको तीनबुँदे सहमतिका आधारमा राज्यले सम्पूर्ण मुद्दा खारेज गर्ने, सम्पूर्ण राजबन्दीहरू रिहा गर्ने सहमतिविपरीत झूट्टा मुद्दा उल्झाउने कार्य गरिरहनु राम्रो कुरा नभएको प्रवक्ता सुदर्शनको भनाइ थियो ।

पत्रकार भेटघाटमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय कार्यालय सदस्य दीपक, केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली ब्युरो इन्चार्ज सङ्गम र बाँके इन्चार्ज अनन्तको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।