0 COMMENTS

साउन २२, काठमाडौँ । लोकतन्त्रको आधार आवधिक निर्वाचन हो । बिना निर्वाचन लोकतन्त्रको संस्थागत विकास हुन सक्दैन । नेपालको संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचनको प्रत्याभूति गरेको छ । संविधान जारी भएपछि संघ र प्रदेशको निर्वाचन दोस्रो पटक आगामी २०७९ मंसिर ४ गते एकै चरणमा गर्ने गरी सरकारले निर्वाचनको मिति घोषणा गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न आवधिक निर्वाचन अनिवार्य सर्त हो ।

निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक दलहरु निर्वाचनको तयारीमा जुटेका छन् । यसै सन्दर्भमा काठमाडौँ क्षेत्र नं. २ मा वामलोकतान्त्रिक गठवन्धनको तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य भविसोर पराजुली चुनावी मैदानमा उत्रने निकै चर्चा चुलिएको छ । यसै सेरोफेरोमा रहेर ‘नयाँ स्वाभिमान’का लागिे भविसोर पराजुलीसँग कृष्ण चापागाईले लिनुभएको अन्तर्वार्ताको अंश प्रस्तुत गरिएको छ ।

सरकारले निर्वाचनको मिति घोषणा गर्यो । तोकिएकै मितिमा निर्वाचन होला ?

चुनाव तोकिएको मितिमा सम्पन्न हुन्छ । किनकि चुनाव तोकिएकै मिति सम्पन्न गराउन नेपालका सबै राजनीतिक दल सहमत छन् । चुनाव नहुन पर्ने कुनै कारण नै छैन । त्यसैले चुनाव घोषित मितिमै हुन्छ ।

तपाईँको पार्टीको गतिविधि के कसरी अगाडी वढेको छ ?

स्थानीय निकायको निर्वाचन सम्पन्न भएपछि पार्टीले त्यसको समिक्षा गरेर संगठन निर्माण, विस्तार र सुदृढीकरण अभियान सुरु गरेको थियो । त्यो अभियान अहिलेसम्म देशव्यापी रुपमा सफलतापूर्वक सम्पन्न हुँदै गएको छ । त्यसले स्थानीय तहको निर्वाचन अगाडि भन्दा अहिले पार्टी संगठनको हिसाबले थप विस्तार र सृदृढ हुँदै गएको छ । त्यसले पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तक सबैमा निकै उत्साह पैदा भएको छ । गठबन्धन नभएपनि एक्लै चुनावमा जाने र विजय हासिल गर्ने आँट, जोश, जाँगर सिङ्गो पार्टी पंक्तिमा पैदा भएको छ ।

चुनाव घोषणा भयो । अव तपाइँको पार्टीको चुनावी रणनीति कस्तो हुन्छ ?

स्थानीय निकायको चुनाव सम्पन्न भए लगतै हाम्रो पार्टी संघ र प्रदेशको चुनावी तयारीमा केन्द्रित भएको थियो । तर अहिले चुनाव नै घोषणा भएपछि स्पेसल चुनावको तयारीका थप कार्यक्रमहरु बनाएको छैन । सायद अब बनाउँला ?

तपाईंले काठमाडौँ क्षेत्र नं. २ बाट प्रतिनीधिसभा सदस्यको लागि उम्मेदवारी दिने भन्ने निकै चर्चा आएको छ । वास्तविकता के हो बताई दिनुस् न ?

चर्चा कहाँबाट कस्ले सुरु गर्यो, थाहा भएन । यो विषयमा पार्टीभित्र आधिकारिक छलफल भएको मलाई जानकारी छैन ।

त्यसो भए तपाईले पार्टी सँग काठमाडौ २ को लागि टिकटको माग गरेको होइन ?

मैले टिकटको माग गरेको छैन । म टिकटको लालायित पनि छैन, फेरी काठमाडौँ २ हाम्रा पार्टीका आदरणीय अध्यक्ष माधवकुमार नेपालको क्षेत्र हो । म अहिले पनि यो क्षेत्रमा उहाँ नै आउनुपर्छ र उहाँलाई नै अत्याधिक मतले जिताउन पर्छ भन्दै आएको छु । तर उहाँ नआएको खण्डमा पार्टी र त्यहाँको जनताको माग भयो भने उम्मेदवारी दिन तयार हुनुपर्छ भन्ने मानसिकता बनाएको छु । यो भन्दा अरु कुरा हल्ला मात्र हो ।

पार्टीको भन्दा जनस्तरबाट तपार्इँलाई चुनावमा उठाउने र जिताउने अभियान सुरु गरेको भन्ने सुन्नमा आएको छ ? यसबारे तपाईँ के भन्नु हुन्छ ?

यो क्षेत्रमा मैले जनताका केही कामहरु गर्दै आए पनि त्यस्तो उल्लेख्य काम गरे जस्तो लाग्दैन । जनस्तरबाट मलाई नै किन जोड गरे, थाहा भएन । तर मेरो कुरा भन्नु हुन्छ भने, अहिले यो क्षेत्रमा माधव कमरेडलाई नै ल्याउने र जिताउने अभियान सुरु गरेको छु ।

अवको संघ र प्रदेशको चुनावमा पनि वाम लोकतान्त्रिक गठवन्धन हुन्छ ?

अहिलेसम्मको निर्णय वामलोकतान्त्रिक गठवन्धन नै हो तर चुनावसम्म के हुन्छ, भन्न सकिदैन ।

अन्तिममा हाम्रो मिडिया मार्फत तपाईँले जनतालाई के भन्न चाहनुहुन्छ ?

अहिले देशमा अन्तर्राष्ट्रिय शक्ति र देशभित्रका प्रतिगामीहरुको चलखेल बढ्दै गएको छ । त्यसैले राष्ट्रिय स्वाधीनता, आर्थिक संमृद्धि र अग्रगमन पक्षमा दृढतापूर्वक उभिँदै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माण गर्न तर्फ लाग्न आम जनसमुदायलाई हार्दिक अपिल गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।