0 COMMENTS

साउन ३, काठमाडौँ । भर्चुअल माध्यमबाट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक ‘प्रज्वल सङ्गठन सुदृढीकरण अभियान’ सञ्चालन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । बैठक सङ्गठनका अध्यक्ष मिलन राईको अध्यक्षता, नेकपा (बहुमत) नवौं महाधिवेशन आयोजक समितिका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को प्रमुख आतिथ्य र सङ्गठनका फ्याक्सन इन्चार्ज समरजङ्गको विशेष आतिथ्यमा सम्पन्न भएको हो ।

भर्चुअल माध्यमबाट मङ्गलबार सम्पन्न बैठकलाई सम्बोधन गर्दै पार्टी संयोजक कञ्चनले विप्लवहरू संसदीय संशोधनवादी दलदलमा फसेकाले क्रान्तिकारीहरुले विद्रोह गरेर नेकपा (बहुमत) पुनर्गठन गरिएको विषय स्पष्ट पारे । संयोजक कञ्चनले वर्तमान परिस्थिति, पार्टीको न्यूनतम् कार्यक्रम वैज्ञानिक समाजवाद, राजनीतिक कार्यदिशा वैज्ञानिक समाजवादी क्रान्ति, कार्यनीति स्वाधीन संयुक्त सरकार, पार्टीको कार्ययोजना र दलाल पुँजीवादी सत्ता एवम् त्यसको शिक्षाप्रणालीमा आमूल परिवर्तनका खातिर युवा विद्यार्थीको दायित्वबारे प्रशिक्षित गरेका थिए ।

सङ्गठनका फ्याक्सन इन्चार्ज समरजङ्गले राजनीतिक क्रान्ति र शैक्षिक आन्दोलन तथा युवा विद्यार्थीको भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए । बैठकमा देशैभरिबाट प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज र ७७ जना केन्द्रीय सदस्यले गत असार १२–१४ सम्म काठमाडौँमा सम्पन्न विशेष राष्ट्रिय भेलाको समीक्षाका साथै आआफ्नो कार्यक्षेत्र एवम् जिम्मेवारीको सङ्क्षिप्त समीक्षा तथा रिपोर्टिङ गरेका थिए । सङ्गठनका पदाधिकारी सबैले सङ्गठनको समग्र समीक्षा र योजनाको व्याख्या गरेका थिए ।

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले साउन १० गतेदेखि असोज १० सम्म सहिद प्रज्वल शाहीको स्मृति र सम्मानमा स्कुल, कलेज र विश्वविद्यालय केन्द्रित दुईमहिने ‘प्रज्वल सङ्गठन सुदृढीकरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।