0 COMMENTS

एजेन्सी । केही सातादेखि दक्षिण युरोपलाई आक्रान्त पारेको ‘हिटवेभ’ उत्तरतर्फ सरेको छ। हिटवेभका कारण बेलायतको तापक्रममा नयाँ रेकर्ड कायम हुने चरणमा पुगेको छ।

द गार्डियनका अनुसार बेलायतमा अहिलेसम्म मापन भएको उच्च तापक्रम ३८.७ डिग्री सेल्सियस हो। मंगलबारको तापक्रम ४० डिग्री सेल्सियस पुगेर उक्त रेकर्ड तोडिने अनुमान गरिएको छ।

जलवायु परिवर्तनको असरका कारण युरोपले योभन्दा भयावह स्थितिको सामना गर्नुपर्ने मौसमविद्हरू बताउँछन्। नेदरल्यान्डको तापक्रम ३५ डिग्री सेल्सियस मापन हुँदा छिमेकी बेल्जियमको तापक्रम ४० डिग्री सेल्सियस माथि पुग्ने अनुमान छ।

सोमबारमात्रै फ्रान्सका विभिन्न सहरमा अहिलेसम्मकै उच्च तापक्रम मापन भएको थियो। फ्रान्सको ब्रिटेनीको तापक्रम ३९.३ डिग्री सेल्सियस मापन भएको छ। यो तापक्रम सन् २००२ यताकै उच्च रहेको गार्डियनले जनाएको छ।

फ्रान्सकै सेन्ट ब्रियुकले पनि ३९.५ डिग्री सेल्सियस तापक्रम व्यहोरको छ। फ्रान्सकै पश्चिमी सहर नेन्ट्सको तापक्रम ४२ डिग्री पुगेको छ। यसअघि सन् १९४९ मा यहाँको तापक्रम ४०.३ डिग्री मापन भएको थियो।

उच्च तापक्रमका कारण फ्रान्सका विभिन्न स्थानमा डढेलो लागिरहेको छ। त्यसलाई निभाउनका निम्ति १५ सय अग्निनियन्त्रक परिचालन भएका छन्। मंगलबार सार्वजनिक भएको तथ्यांकअनुसार डढेलोले १४ हजार हेक्टर जंगलमा क्षति पुर्‍याएको छ।

अग्नि नियन्त्रक डेभिड ब्रुनर भन्छन्, ‘म अग्नि नियन्त्रकको रूपमा ३० वर्षदेखि काम गरिरहेको छु। यस्तो भीषण आगलागीको सामना अहिलेसम्म गर्नुपरेको थिएन। तत्कालै रोकिने यसको छाँट छैन।’

गर्मीयामको पर्यटकीय क्षेत्र डुनमा ९ किलोमिटर लम्बाइ र ९ किलोमिटर बराबरकै चौडाइमा डढेलो फैलिएको छ। आवासीय क्षेत्रमा धुँवाको बाक्लो मुस्लोका कारण बस्ने स्थिति छैन। त्यस क्षेत्रबाट आठ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्सको यस सहरको तापक्रम ४४ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।

त्यहाँबाट उद्धार गरिएका २६ वर्षीय थिओ डायन भन्छन्,‘हामी जलवायु परिवर्तनका कारण शरणार्थी बन्न पुग्यौं। घर छोडेर सुरक्षित भनिएको स्थानमा आइपुगेका छौं। यो स्थान पनि कहिलेसम्म सुरक्षित हुने हो कुनै निश्चित छैन।’

बढ्दो तापक्रम र डढेलोको असरबाट बचाउन स्थानीय र पर्यटक गरी करिब ३२ हजार मानिसलाई आपतकालीन शिविरमा स्थानान्तरण गरिएको गार्डियनले उल्लेख गरेको छ। उद्धार तथा राहतका निम्ति विभिन्न १५ वटा विभागलाई उच्च सतर्कतामा राखिएको छ।

युरोप महाद्वीपको उत्तर-पश्चिमी क्षेत्रमा हालैको साताभित्रै दोस्रो पटक उच्च गर्मीको सामना गर्नुपरेको हो। युरोपियन कमिसनका अनुसन्धानकर्ताहरूले उच्च तापक्रमका कारण युरोपको ४६ प्रतिशत भूभागले खडेरीको सामना गर्नुपर्ने बताएका छन्।

आइरल्याण्डले पनि सन् १८८७ यताकै उच्च गर्मीको सामना गरेको छ। डब्लिन सहरमा मापन भएको ३३ डिग्री सेल्सियस तापक्रम अहिलेसम्मकै उच्च हो।

स्पेनको पनि ७५ हजार एकर्ड भूभाग डढेलोको चपेटमा परेको छ। स्पेनको दक्षिण-पश्चिम क्षेत्रमा लागेको डढेलो निभाउने क्रममा अग्नि नियन्त्रक ग्युलोन भाराले ज्यान गुमाए।

उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले भनेका छन्,‘अझै केही साता हामीले जलवायु परिवर्तनको संकटको सामना गर्नुपर्ने हुन्छ। यसले मानिसलाई मात्रै होइन जैविक विविधतालाई पनि असर पुर्‍याइरहेको छ। मैले प्रस्टसँगै भन्नैपर्छ यसले अझै क्षति पुर्‍याउनेछ।’

स्पेनको छिमेकी मुलुक पोर्चुगलमा पनि गत साता मात्रै ४७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। त्यहाँ पनि डढेलोको कारण १५ हजार हेक्टर जमिनमा क्षति पुगेको छ भने दुई जनाको मृत्यु र ६० जना घाइते भएका छन्।

पोर्चुगलको तापक्रम केही कम भए पनि डढेलोले अझै आक्रान्त हुने सम्भावना रहेको त्यहाँको मौसम विज्ञान संस्थाले बताएको छ। डढेलो निभाउनका निम्ति १ हजार अग्निनियन्त्रक र २८५ वारूण यन्त्र र १४ हवाइजहाज तैनाथ रहेका छन्। बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।