0 COMMENTS

असार २५, एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ । ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबेलाई उक्त समूहको सदस्य भएको विश्वासमा आक्रमण गरेको बताएका छन् । तर, समूहको नाम बताइएको छैन् ।

शुक्रबार बिहान एक राजनीतिक प्रचार कार्यक्रममा बोल्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । आफूले घरेलु बन्दुकले गोली हानेको आक्रमणकारीले स्वीकार गरेको प्रहरीले जनाएको छ । आबे जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री थिए । स्थानीय समयअनुसार बिहान साढे ११ बजेतिर दक्षिणपश्चिम जापानको नारा सहरमा आबेमाथि गोली हानिएको थियो ।

आइतबार हुने माथिल्लो सदनको चुनावमा आबेको लिबरल डेमोक्र्याटिक पार्टीका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेका आबेमाथि गोली हानिएको थियो। उनको छाती र घाँटीमा गोली लागेको अधिकारीहरूले बताएका छन् । आबेमाथि पछाडिबाट गोली हानिएको थियो। गोली लागेका आबे त्यहीँ ढलेर बेहोस भएका थिए । उनले लगाएको सर्टमा रगत देखिएको थियो । हेलिकप्टरबाट अस्पताल ल्याइपुर्‍याउँदा उनका मुख्य अंगहरूले काम गर्न छाडिसकेका थिए । केही घन्टाको प्रयासपछि डाक्टरहरूले साँझ उनलाई मृत घोषणा गरेका थिए । यामागामी नारा सहरकै बासिन्दा भएको खुलेको छ तर उनले के काम गर्थे भन्ने बाहिर आइसकेको छैन। सन् २००२ देखि २००५ मा उनले जापानको म्यारिटाइम सेल्फ डिफेन्स फोर्समा काम गरेका थिए ।

जापानमा सर्वसाधारणले बन्दुक राख्ने कानुन निकै कडा छ । बन्दुक राख्न कुनै नागरिकले १३ वटा चरण पार गर्नुपर्ने हुन्छ। बन्दुक राख्न चाहनेले सुरूमा सुटिङ वा हन्टिङ क्लबमा भर्ना हुनुपर्छ । त्यसपछि उनीहरूले बन्दुक चलाउनेबारे पढ्नुपर्छ र लिखित परीक्षा पास गर्नुपर्छ । मानसिक स्वास्थ्य ठिक भएको र दुर्व्यसनमा नफसेको प्रमाणित भएपछि डाक्टरले प्रमाणपत्र दिनुपर्छ । बन्दुक चलाउने र सुरक्षित राख्नेबारे अर्को छुट्टै पढाइ गर्नुपर्छ । प्रहरीले बन्दुक राख्न चाहनेसँग के प्रयोजनका लागि बन्दुक राख्न लागेको हो भनेर लामो अन्तर्वार्ता गर्छ । त्यस्ता व्यक्तिको छिमेकीसँगको सम्बन्ध, पारिवारिक र आर्थिक अवस्थाको पनि प्रहरीले अध्ययन गर्छ । सबै प्रक्रिया पूरा भएपछि बन्दुक राख्ने ठाउँको पनि प्रहरीले अनुमगन गर्छ। यति लामो प्रक्रिया पूरा गरेर बन्दुक राख्ने जापानीको संख्या नगन्य छ । कडा बन्दुक कानुन र राजनीतिक हिंसा लगभग नहुने भएकाले जापानले आफूलाई सुरक्षित समाज ठान्थ्यो ।

दोस्रो विश्वयुद्धपछि शान्तिवादी संविधान अंगालेको जापानको अन्तर्राष्ट्रिय छवि पनि त्यस्तै थियो। शुक्रबार आबेमाथि गोली प्रहार भएको खबर आएपछि मानिसहरू अचम्ममा परेका थिए । जापानमा शीर्ष नेताको हत्या प्रयास भएको २८ वर्षमा यो पहिलोपटक हो । यसअघि सन् १९९४ मा पूर्वप्रधानमन्त्री मोरीहिरो होसोकावामाथि एक होटलमा आक्रमण भएको थियो। तर उनलाई केही भएन । त्यसअघि सन् १९६० मा जापान सोसलिस्ट पार्टीका प्रमुख इन्जेरिओ असानुमालाई चक्कु घोपेर हत्या गरिएको थियो । जापानमा बिरलै हुने हिंसाको शिकार आबे भएका छन् । राजनीतिक परिवारबाट आएका आबे सन् २००६ मा पहिलोपटक जापानको प्रधानमन्त्री बन्दा दोस्रो विश्वयुद्धपछि सबभन्दा कम उमेरमा जापानी प्रधानमन्त्री बनेका थिए। त्यतिबेला उनले लामो समय काम गर्न पाएनन् । एक वर्षमै राजीनामा दिनुपर्‍यो ।

२०१२ मा उनको पार्टीले बहुमत ल्यायो। आबे फेरि प्रधानमन्त्री बने। यो कार्यकालमा उनी ८ वर्षसम्म प्रधानमन्त्री भए । लगातार यति लामो समय जापानी प्रधानमन्त्री हुने उनी पहिलो व्यक्ति हुन् । आफ्नो कार्यकालमा उनले जापानी शासनलाई स्थायित्व मात्रै दिएनन्, जापानको अर्थतन्त्र र विदेश सम्बन्धलाई पनि मजबुत बनाउन भूमिका खेले। उनले लागू गरेका आर्थिक नीतिहरूलाई ‘आबेनोमिक्स’ पनि भन्ने गरिन्छ । आबेले अमेरिका, अस्ट्रेलिया, भारत र जापान सम्मिलित क्वाड बनाउन पनि महत्वपूर्ण योगदान दिए। जापान दोस्रो विश्वयुद्धमा पराजित भएपछि अमेरिकाले तयार पारिदिएको शान्तिवादी संविधानमा अडिएको छ । आबेले भने जापानी सैनिक अरू देशको सहयोगका लागि बाहिर पनि जान सक्ने कानुन ल्याए ।

चीनमा उनको छवि राम्रो नभए पनि आबेले सम्बन्ध सुधारका लागि पहल गरेका थिए । उनले चीनको भ्रमणसमेत गरेका थिए। कार्यकाल सकिन बाँकी छँदै आबेले सन् २०२० मा स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिए । राजीनामा दिए पनि सत्तारूढ पार्टीभित्र उनको बलियो पकड थियो । आबेका हजुरबुवा पनि जापानका प्रधानमन्त्री थिए । उनका बुवा विदेशमन्त्री भएका थिए। १९५७ देखि १९६० सम्म जापानका प्रधानमन्त्री बनेका आबेका हजुरबुवा किसी नोबुसुकेको पनि हत्या प्रयास भएको थियो । सन् १९६० मा नोबुसुकेले अमेरिकासँग सुरक्षा सन्धी गरेका थिए । उक्त सन्धी पास भएको एक महिनामै किसीमाथि चक्कु आक्रमण भयो । आक्रमणकारीले ६ पटक उनको तिघ्रामा चक्कु हानेका थिए। उक्त आक्रमणबाट किसी बाँचे । आबेमाथि आक्रमण गर्नेले छातीमै गोली हाने । उनी बाँच्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।