0 COMMENTS

असार २५, भक्तपुर । तपाईहरू बिरामी लिएर अस्पताल जानका लागि वा हतार भएर ट्याक्सी चढ्न खोज्दै हुनुहुन्छ । ट्याक्सी पाइयो भनेर मख्ख परेर चढ्नुहुन्छ । तर, ट्याक्सी चालकसँगको चुरोकुरो मिलेन भने उसले ट्याक्सीबाट ओर्लिन लगाउछ । चढिसकेको यात्रु ओर्लिदा कस्तो महशुस हुन्छ ? यस्तो अनुभव अधिकांशसँग होला । स्वदेशी मात्र नभई विदेशीलाई पनि बेइज्जत महशुस गराइएको छ । हिजोकै कुरा हो काठमाडौँको भीमसेनगोला, कात्तिके मन्दिरमा बिहान ११ बजे एक बिरामीलाई दुई जनाले समातेर ल्याए । कात्तिके मन्दिरबाट सिभिल अस्पताल जानका निम्ति चालकले पाँच सय रुपैंया मागे । दुरीको हिसाब गर्ने हो भने जम्मा डेढदेखि दुई किलोमिटर होला । मिटरमा जाने हो भने बढीमा डेढ सय रुपैंया पर्छ । सरकारले तोकेअनुसार फ्लगडाउन ५० र प्रतिकिमि ५० रुपैयाँ छ ।

सरकारले वर्षौदेखि ट्याक्सीको भाडा बढाएको छैन भनेर पटकपटक रमिता देखाएपछि २०७९ वैशाख १ गतेदेखि लागु हुनेगरि भाडा बढायो । त्यसअघि फ्लगडाउन १४ र प्रतिकिमि भाडादर ३९ थियो । भाडा बढेपनि ट्याक्सी व्यवसायीले मिटरमा यात्रु बोक्दैनन् । मिटर नै खोल्दैनन् । सरकारले तोकिदियो यात्रुले सोहीअनुसार भाडा दिन्छौँ भनिरहेका छन् । कालो प्लेटमा दर्ता भएका ट्याक्सीमा सरकारले नै मिटर जडान गरेको छ । त्यो मिटर देखाउनका लागि जोडेको हो ? यातायात ऐनमै मिटरजडित ट्याक्सीले अनिवार्य रुपमा मिटरमा यात्रु बोक्नुपर्ने उल्लेख छ । यात्रुले भनेको ठाँउमा उनीहरू जानैपर्छ । सरकारको ऐनकानून मान्छौँ, मिटरमा यात्रु बोक्छौँ, जनतालाई सेवा दिन्छौँ भनेर यातायात कार्यालयमा दर्ता भएका ट्याक्सीले कुनै पनि कुराको पालना गरेका छैनन् ।

अहिले पनि ट्याक्सी मिटरमा यात्रु बोक्न अटेर गर्छ । नजिक त जादैं जादैन । मिटरमा यात्रु नबोक्ने ट्याक्सीलाई न यातायात व्यवस्था विभागले कारबाही गर्छ न ट्राफिक प्रहरी महाशाखाले । प्रदेशको यातायात कार्यालय पनि हात बाँधेर बसेको छ । जनताको सेवासुविधाका लागि सरकारले मिटर जडान गरेको हो । तर, ट्याक्सी व्यवसायीको उद्देश्यः जनता कसरी ठग्न र लुट्न सकिन्छ ? सिण्डिकेट कसरी दह्रो पार्ने ? मात्र छ । विगतदेखि अहिलेसम्म हेर्ने हो भने सरकारभन्दा ट्याक्सी व्यवसायी शक्तिशाली हो भनेर साबित हुन्छ । पछिल्लो समय नेपालीमा मानवता हराउँदै गएको छ । माथि उल्लेखित घटना एउटा प्रतिनिधिमूलक पात्र मात्र हो । आफूले भनेजति रकम पाएन भने चढिसकेको यात्रुलाई पनि झारिदिन्छन् । बिरामी, वृद्धवृद्धिलाई कहिलेकाही मानवताकै नाताले पनि अस्पताल लैजादा के बिग्रिन्छ ?

एकै ठाँउमा भेला भएर गफिदै बस्छन्, ट्याक्सी चालक । ट्याक्सी पार्कमा राखेर क्याराम बोर्ड र लुडो खेलेर बस्छन् । तर, यात्रु बोक्दैनन् । जुनै पनि अस्पतालको गेटबाहिर दर्जनौँ ट्याक्सी पार्किङमा बसेको देखिन्छ । डिस्चार्ज भएर घर फर्किन लागेका बिरामीलाई पैसाको कुरा नमिलेसम्म पुर्याउदैनन् । हरेक पार्किङमा ट्याक्सी चालक र यात्रुबिच गलफत्ती भइरहेको हुन्छ । बाटो हिड्ने यात्रुले भाडाको विषयमा गलफत्ती भएको भनेर राम्ररी बुझ्छन् । तर, ट्राफिक प्रहरी देखेपनि अनदेखा गरिदिन्छन् । ट्राफिक महाशाखा प्रमुख मीरा चौधरी र यातायातमन्त्री मोहम्मद इश्तियाक राई जनताको प्रश्नः नयाँ ट्याक्सीको दर्ता पनि नखोल्ने र मिटरमा यात्रु नबोक्ने ट्याक्सीलाई कारबाहीको निर्देशन पनि नदिने ? ट्राफिक प्रमुखले पनि आफै जानेर अनुगमन गर्नुपर्दैन् ? आखिरी ट्राफिकको सडकमा बस्ने मात्र हो ? लामो समयदेखि नयाँ ट्याक्सीको दर्ता खोलेको छैन् ।

३३ वर्षअघि बन्द भएको दर्ता अहिले पनि यथावत नै छ । सबै प्रदेशमा ट्याक्सीको दर्ता बन्द छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । नेपाल आयल निगम टाँट पल्टेको कुरा सबैलाई थाहा नै छ । सरकारले विस्तारै विद्युतीय बस भित्राउदै छ तर विद्युतीय ट्याक्सीको दर्ता खोल्दैन् । एउटा ट्याक्सीले दैनिक दुई हजारको पेट्रोल खपत गर्छ । विद्युतीय ट्याक्सीको दर्ता खुला गरिदिने हो भने चार्ज गरेको डेढ सय रुपैंया पनि नेपालमै बस्छ । पेट्रोल आयात गरेर नाफा होइन झन घाटा हुँदै गइरहेको छ । १८ सय ५० रुपैयाँ दैनिक फाइदा भयो भने यात्रुलाई पनि भाडामा केही हदसम्म राहत होला । अहिले सञ्चालित ट्याक्सीहरूले प्रदुषण गरिरहेको छ । महँगो शुल्क तिरेर स्वेदशी र विदेशीले राम्रो सेवा पाएका छैनन् । यहाँ पनि हानाथाप भएको कारण नयाँ ट्याक्सीको दर्ता नखुलेको बुझिन्छ । सङ्घीयले प्रदेशलाई प्रदेशले सङ्घीय देखाउछ । एकअर्कातिर औला देखाएर यात्रुलाई कतिञ्जेल सास्तीको भारी बोकाउने ?

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल फोन उठाउँदैनन् । ट्याक्सीको दर्ता किन नखोलेको भनेर जिज्ञासा र यात्रुका गुनासा राख्न खोज्दा उनको फोन उठ्दैन । ट्याक्सी चालकका अनुसार यातायातमन्त्री दाहालको पनि ट्याक्सीमा लगानी छ । दैनिक कमाइ र ट्याक्सीको खरिदबिक्री मूल्य घट्ने भएकाले दर्ता नखोलेको बताइन्छ । जनता र राष्ट्रका लागि काम गर्छु भनेर शपथ खाएका व्यक्तिले आफ्नो व्यक्तिगत फाइदा हेर्न मिल्छ ? मेरो लगानी डुब्छ भनेर जनतालाई दुःख दिन मिल्छ ? सरकारले नयाँ ट्याक्सीको दर्ता नखोलिदिदा राज्यको ढुकुटीमा राजस्व आएन् । यात्रुले पनि भनेको बेलामा ट्याक्सी चढ्न पाएनन् । सर्वसुलभ मूल्यमा नयाँ ट्याक्सी चढ्ने उनीहरूको अधिकार खोसियो । ट्याक्सीमा भएको सिण्डिकेटको जरा उखाल्न मन्त्री चासो दिदैनन् । सञ्चारकर्मीहरू आफूलाई नपरेसम्म कलम चलाउदैनन् । यात्रु महँगो भाडा तिरिरहने, ट्याक्सी व्यवसायी ठगिरहने ।

यदि अहिले कसैले सरकारले सोध्यो भने सिण्डिकेट छैन् भनेर दाबी गर्छन् । सिण्डिकेट हटेको भए खोइ त नयाँ ट्याक्सी ? जनताले त चढ्न पाएका छैनन् । सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्यो भने हामी पूराना ट्याक्सी ल्याएर सडकमा तेस्य्राउँछौँ । ट्याक्सीको चाबी सरकारलाई बुझाउछौँ । आन्दोलन गछौँ भनेपछि सरकार पनि डरायो । उनीहरूको विरोधले सञ्चारकर्मीले कला चलाए भने ट्याक्सी व्यवसायीले फोन गरेर थर्काउछन् । कार्यालय घेर्न पनि बेर लगाउदैनन् । ट्याक्सी व्यवसायीले जनता र राष्ट्र ठगेको विषयमा अझै पनि कडा भएर कलम चलाउन जरुरी देखिएको छ । टुलुटुलु हेरेर बसेभने जनताले कहिले राहतको सास फेर्न पाउदैनन् । आफू पनि जनतालाई सस्तोमा सेवासुविधा नदिने । नयाँ व्यवसाय भित्रिन पनि नदिने । रोड कब्जा गरेर जनता लुटिरहने । सरकारले निर्माण गरेको बाटोमा ट्याक्सी व्यवसायीले राज गरेका छन् । जनताहरू मँहगो भाडा तिरेर थोत्रा ट्याक्सी चढ्न बाध्य छन् ।

एक्काइसौँ शताब्दीमा आइपुग्दा त ट्याक्सी व्यवसायीको यत्रो दादागिरी छ । यो दादागिरी चिर्नलाई जनताले आवाज बुलन्द बनाउनुपर्छ । हरेक सञ्चारकर्मीले एकचोटि कलम चलाउनुपर्छ । अनि बल्ल सरकार तात्ला र सरकारले नयाँ ट्याक्सीको नयाँ दर्ता खुला गरिदेला । ट्याक्सीमा भएको सिण्डिकेट र ठगीको विषयमा सदनमा आजसम्म आवाज उठेको छैन् । सङ्घीय र प्रदेश सांसद्ले नयाँ ट्याक्सीको दर्ता खोल्नुपर्छ भनेर आवाज उठाएका छैनन् । ट्याक्सीमा गएर यात्रु बस्नेबित्तिकै लुगा बिग्रिन्छ । सिटका खोलहरू पनि सफा गरिएको हुदैन् । पुराना ट्याक्सीका सिटमा त जुम्रा पनि भेटिन्छन् । भन्नलाई ट्याक्सी तर ट्याक्टरको जस्तो आवाज आउछ । ट्याक्सीमा बस्दा खुट्टा सिधा पार्न मिल्दैन् । टाउको माथि गर्यो कि ठोक्किन्छ । सलाईका बट्टा जस्ता ट्याक्सी छन् । मोटामोटा तीन जना यात्रु बस्यो भने उकालोमा ट्याक्सीले तान्दैन् । ट्याक्सीबाट यात्रु ओर्लिएर ठेल्नुपर्छ । ट्याक्सीमा यस्तो बेतिथि हुँदा पनि कसैको ध्यान गएको छैन् ।

ट्याक्सी व्यवसायीहरू यति शक्तिशाली हुनुमा जनता पनि कहीकतै दोषी छन् । पैसा तिरिसकेपछि त्यसअनुसारको गुणस्तर खोज्नु हाम्रो अधिकार हो । तर, नेपाली जे जस्तो भएर पनि सहेर बस्छन् । जसको कारण सक्नेले जहिले पनि थिचोमिचो गर्न खोज्छन् । जनताले आवाज नउठाउदा ट्याक्सी व्यवसायीको मनोबल बढ्दै गएको हो । बाटो सबैको साझा हो तर ट्याक्सी व्यवसायी आफु मात्र व्यवसायी गर्न खोज्छन् । थप नयाँ व्यवसायी आउन दिदैनन् । ट्याक्सीमा खुला प्रतिस्पर्धा कहिले हुन्छ सरकार ? नयाँ व्यवसायी कहिले आउछन् ? आन्दोलन गर्ने ट्याक्सीको दर्ता र रोडपरमिट खारेज गरेर अघि बढ्ने हो कि ? उपत्यकाभित्र मात्र ट्याक्सीको परमिट छ यसलाई देशभर बनाऔँ । उपत्यकाबाहिर पनि जनता छन् भनेर नबिर्सिऔँ । यसमा हरेकको भूमिका छ । सबैले आफ्नो भूमिका निर्वाह गर्दा जनताले सुख पाउलान् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।