0 COMMENTS

असार १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) को विशेष भेला काठमाडौँमा सुरु भएको छ । उक्त विशेष भेलामा आइतबार नेकपा (बहुमत) का संयोजक कञ्चनले दलाल पुँजीवादले नेपालको क्रान्तिकारी आन्दोलनलाई विकृत पारेको र विप्लव त्यही षड्यन्त्रको सिकार बनेको बताएका छन् । अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कञ्चनले पुँजीवादले क्रान्तिलाई मारकाट, आन्दोलन, युद्ध, बमबारुद, हतियारका रूपमा मात्र अपव्याख्या गरेको तर वास्तवमा क्रान्ति गोलाबारुद मात्र नभएर आमूल परिवर्तन रहेको पनि बताए । संयोजक कञ्चनले भने, ‘नेपालमा क्रान्ति भएको छैन । यसअघि नेपालमा आन्दोलन र युद्धहरू भए पनि क्रान्ति भएन । क्रान्ति हुन आवश्यक छ । आमूल परिवर्तन हुन आवश्यक छ । देश र जनताको जीवनमा आमूल परिवर्तन हुन आवश्यक छ ।’

विप्लवले छद्म तरिकाले, पार्टीका नेता–कार्यकर्तालाई दिग्भ्रमित पार्ने तरिकाले क्रान्तिको बाटो परित्याग गरेर दलाल पुँजीवादमा आन्दोलन विसर्जन गराएको र त्यसभित्रका क्रान्तिकारीहरूले आँट गरेर विद्रोह गर्दै नेकपा (बहुमत) पुनर्गठन गरेको पनि प्रस्ट पारे । उनले भने, ‘बाहिरबाहिर हामी संसद्‌वादी भएर होइन, क्रान्तिकारी भएरै मर्न पनि तयार छौँ भन्ने तर भित्रभित्र पार्टी केन्द्रीय समितिको निर्णयविरुद्ध दलाल संसद्वादीहरूसँग सहमति र आत्मसमर्पण गरेर संसद्‌वादभित्र छिर्ने काम विप्लवले गरे । यो नेपालको कम्युनिस्ट आन्दोलनमा चरम धोका र गद्दारी हो । विप्लव दलाल संसदीय व्यवस्थाको भत्किन लागेको गोठमा टेको दिएर बचाउनतिर लागे । पार्टी नै फुटाएर चुनावमा जानु नेपालको कम्युनिसट आन्दोलनलाई धोका दिनु हो ।’ कम्युनिस्ट आन्दोलन धोका, गद्दारी र विद्रोहका बीचबाट अघि बढेको स्मरण गराउँदै संयोजक कञ्चनले भने, ‘विप्लव नेपालको कम्युनिस्ट आन्दोलनमा खराब प्रवृत्तिको विरासत र उपज हो । पैसा उठाउनका लागि २–४ वटा बम विस्फोट गर्न लगाएर कार्यकर्ता मराउन र आफ्नो व्यवस्थापन गर्नतिर लागेर विप्लवले मानिसलाई गुमराहमा राखे । तर हामीले विद्रोह गरेर उनको गैरक्रान्तिकारी मुखुन्डो च्यातिदियौँ ।’ विप्लवले अघि सारेको एकीकृत जनक्रान्ति कुनै नयाँ कार्र्यदिशा नभएर प्रचण्डले २०५७ सालमा अघि सारेको फ्युजनको नक्कल मात्र रहेको उनले बताए ।

आफ्नो पार्टीले अघि सारेको वैज्ञानिक समाजवादी व्यवस्थाको चर्चा गर्दै संयोजक कञ्चनले शिक्षामाथिको व्यापारीकरण तत्काल अन्त्य हुनुपर्ने, शिक्षा नैसर्गिक अधिकार भएकाले यसलाई निःशुल्क, स्तरीय र अनिवार्य गर्नुपर्ने, स्वास्थ्य र रोजगारको सुनिश्चितता हुनुपर्ने प्रस्ट पारे । उनले भने, ‘समान र उच्चस्तरीय शिक्षाका लागि हाम्रो आन्दोलन अघि बढ्छ । स्वास्थ्यमाथि राज्यले व्यापार गर्न पाउँदैन । असभ्य मानिसहरू देशमा रहेसम्म सभ्यताको परिचय दिन सकिँदैन । अब यस किसिमको राजनीतिक, वैचारिक, शैक्षिक क्रान्तिको नेतृत्व विद्यार्थी सङ्गठनले गर्नुपर्छ ।’ वैज्ञानिक समाजवादी कार्यदिशा, नयाँ जनवादी क्रान्तिसहितको वैज्ञानिक समाजवादी क्रान्तिको राजनीतिक कार्यक्रम, स्वाधीन संयुक्त सरकार र यसलाई कार्यान्वयन गर्न शान्ति र समृद्धिसहित प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थको नारा सक्रियतापूर्वक अघि बढाउनुपर्ने उनले बताए ।

नेकपा (बहुमत) सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ ले अखिल क्रान्तिकारी क्रान्तिकारी इतिहास बोकेको र सहिदहरूको सपना पूरा गर्ने प्रतिबद्धता बोकेको उत्तराधिकारी सङ्गठन रहेको बताए । युवा क्रान्तिकारीहरूले दलाल पुँजीवादका विरुद्ध सशक्त सङ्घर्ष गरेर मुलुकलाई वैज्ञानिक समाजवादी व्यवस्थासम्म पुर्याएरै छोड्नुपर्ने धारणा उनले राखे । यसैगरी नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष शरद रसाइलीले नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले विप्लव–प्रकाण्डको प्राइभेट कम्पनीबाट विद्रोह गर्ने हिम्मत गरेको भन्दै बधाई दिए । उनले भने, ‘यो प्राइभेट कम्पनीबाट विद्रोह बोल्ने योद्धाहरूको राष्ट्रिय भेला हो । योद्धाहरूलाई सलाम छ । जनवाद जाग्रत भएका योद्धाहरूलाई सलाम छ । विद्यार्थी आन्दोलनको औचित्य सकिएको छैन, झन् बढी आवश्यक छ ।’

विद्यार्थीहरूलाई आन्दोलनबाट विचलित नहुन सुझाव दिँदै नेता रसाइलीले उच्च नैतिकता र उच्च आदर्श कायम राख्न जोड दिए । यस्तै नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति, सचिवालय सदस्य एवम् विद्यार्थी फ्र्याक्सन इन्चार्ज पूर्णबहादुर सिंहले अखिल क्रान्तिकारी निरङ्कुश जहानियाँ राणाशासन, पञ्चायती निरङ्कुशता, शाहीशासनलगायत सबैखाले तानाशाहीका विरुद्ध गङ्गालाल, चिनियाँकाजी, पूर्ण पौडेल, बेनोज अधिकारी र विपीन भण्डारीहरूको बलिदानको जगमा अघि बढेको क्रान्तिकारी आन्दोलन भएकाले दलाल पूँजीवादी संसदीय व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवाद स्थापनाका लागि निरन्तर क्रान्ति र बलिदानको बाटो अघि बढिरहने प्रतिबद्धता व्यक्त गरे ।

महान् जनयुद्धमा बलिदान गर्ने योद्धा पूर्ण पौडेल, विपीन भण्डारीका अभिभावक र परिवारका सदस्यले विशेष राष्टिय भेलामा सहभागिता नजनाएर योद्धाहरूको त्याग, शौर्य र बलिदानको अपमान गरेको भन्दै नेता सिंहले भने, ‘सहिद, बेपत्ता योद्धा, घाइते, श्रमिक जनताको सपना भुल्ने र अपमान गर्ने छूट कसैलाई छैन । तिनलाई यो आन्दोलनले जबाफ दिनेछ । हाम्रो सपना तुसारापात गर्ने दुष्चेष्टा गरिन्छ भने हाम्रो आन्दोलनले बढारिदिनेछ ।’ संसद्‌वादी राजनीतिक दलका विद्यार्थी सङ्गठनले एउटै विद्यार्थी सङ्गठन बनाएर अघि बढ्न गरेको आह्वानलाई जबाफ दिँदै नेता सिंहले भने, ‘यो क्रान्तिकारी आन्दोलनको विरासत बोकेको क्रान्तिकारी दस्ता हो । साम्राज्यवाद र दलाल संसद्‌वादको दास, कारिन्दा र मतियार सङ्गठन होइन । त्यसैले क्रान्तिकारी र दलालका मतियार सङ्गठन एक हुनसक्ने कल्पना पनि गर्न सकिँदैन । हामी साम्राज्यवादसँग घुँडा टेक्न सक्तैनौँ । दलाल संसद्वाद अब कुकुरकै टाउको झुन्ड्याएर कुकुरकै मासु बेच्ने पसलमा भ्रष्टीकरण भइसकेको छ । प्रचण्डदेखि विप्लवसम्म त्यसैका मतियार बनिसकेका छन् । हाम्रो सङ्गठन क्रान्तिकारी आन्दोलनको विरासत बोकेको क्रान्तिकारी दस्ता हो । साम्राज्यवाद र दलाल संसद्‌वादको दास, कारिन्दा र मतियार सङ्गठन होइन । त्यसैले क्रान्तिकारी र दलालका मतियार सङ्गठन एक हुनसक्ने कल्पना पनि गर्न सकिँदैन । हामी साम्राज्यवादसँग घुँडा टेक्न सक्तैनौँ ।’

नेता सिंहले क्रान्तिकारी राजनीतिकर्मी, विद्यार्थी कसैलाई पनि सुतेर सपना देख्ने छूट नभएको र सुत्नै नदिने सपना देख्ने अवस्था आइरहेको भन्दै यो निराशा बाँड्ने सङ्गठन नभएर क्रान्तिकारी आशावादले भरिपूर्ण लालदस्ता भएकाले क्रान्तिलाई विजयसम्म पुर्याएरै छोड्ने उद्घोष गरे । उनले भने, ‘यो महान् सहिद प्रज्वलको उत्तराधिकारी सङ्गठन हो । यसलाई पलायन हुने छूट छैन ।’ एकीकृत जनक्रान्तिका नाउँमा १६–१७ जना सहिद जन्माएर विप्लवहरू क्रान्तिकारी आन्दोलनबाट संसद्‌वादतिर पलायन भएको भन्दै सिंहले इतिहासले कायर र पलायनवादीहरूका बारेमा सही समयमा सही कारबाही गर्ने पनि बताए । संसद्‌वादको विकल्प संसद्‌वाद हुन नसक्ने र साम्राज्यवादको विकल्प पनि साम्राज्यवाद हुन नसक्ने भन्दै उनले सबै समस्याहरूको एक मात्र समाधान वैज्ञानिक समाजवाद भएकाले नेकपा (बहुमत) र बहुमत निकट विद्यार्थी सङ्गठनले मुलुकमा वैज्ञानिक समाजवाद स्थापना गराएरै छोड्ने उद्घोष गरे । अब निरन्तर क्रान्तिले मात्र नहुने र निर्णायक क्रान्तिले मात्र समाधान दिने उनको भनाइ थियो ।

भेला उद्घाटन समारोहको अध्यक्षता विशेष राष्ट्रिय भेला आयोजक समितिका संयोजक मिलन राईले गरेका थिए । उद्घाटन कार्यक्रममा उपस्थित अतिथि, प्रतिनिधि, पर्यवेक्षक, कलाकारहरूलाई सङ्गठनकी सहसंयोजक रूपा बुढामगरले स्वागत गरेकी थिइन । कार्यक्रमका सञ्चालन अर्का सहसंयोजक वीरेन्द्र शाहले गरेका थिए । यस्तै भेलालाई हरिकृष्ण गजुरेल, सुदेश पराजुली, गणेश अधिकारी, मनीष भट्टराई, पवित्रा आचार्य, राजेश्वरी सुवेदी, क्षितिज सापकोटा, विनोद थापालगायतले शुभकामना दिएका थिए । त्यसैगरी कार्यक्रममा सहिद प्रज्वलकी बहिनी मनीषा शाही, पार्टी सल्लाहकार समितिका अध्यक्ष असारे काका, सल्लाहकार समितिका सचिव चित्रबहादुर आले ‘पवन’ लाई पार्टी संयोजक कञ्चन, पार्टी प्रवक्ता सुदर्शन, विद्यार्थी सङ्गठनका संयोजक मिलन राईले अभिनन्दनपत्रसहित खादा र अबिर लगाएरर सम्मान गरेका थिए । भेलाको उद्घाटन पार्टी संयोजक कञ्चनले पानसमा बत्ती बालेर गरेका थिए ।

भेला उद्घाटन कार्यक्रममा नेकपा (बहुमत) का कार्यालय सदस्यहरू, सचिवालय सदस्यहरू, विभिन्न जवस र मोर्चाका पदाधिकारी र सदस्यहरू उपस्थिति थिए । सुन्धाराबाट रातो पोसाकसहित युवा विद्यार्थीले मार्च पास्ट गरेका थिए । र्यालीले सुन्धारा, नयाँसडक, वीर अस्पताल, रत्नपार्क शान्तिवाटिका, भृकुटीमण्डप, भद्रकाली, सहिदगेट, सुन्धारा, नयाँसडक, वसन्तपुर, हनुमानढोका हुँदै विष्णुमती किनारमा रहेको परोपकार आदर्श माविसम्म परिक्रमा गरेको थियो । र्यालीमा पार्टी संयोजक कञ्चन, प्रवक्ता सुदर्शन, कार्यालय सदस्यहरू, सचिवालय सदस्यहरू, महाधिवेशन आयोजक समितिका सदस्यहरू, विभिन्न जवस/मोर्चाका इन्चार्ज र संयोजकहरूको सहभागिता थियो । र्यालीमा दलाल पुँजीवादका विरुद्ध र वैज्ञानिक समाजवादका पक्षमा नाराहरू लगाइएको थियो । भेला तीन दिनसम्म चल्नेछ । १५ गते पत्रकार सम्मेलन गरी भेलाका निर्णयहरू सार्वजनिक गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।