0 COMMENTS

असार १२, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । एकीकृत समाजवादीका नेतासमेत रहेका उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको राजीनामा पत्र बोकेर अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर छलफल गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीलाई भेट्ने समय भने तय नभएको बताइएको छ । आलेले शुक्रबार पार्टी बैठकमा आफूले ४८ घन्टाभित्र राजीनामा दिने बताएका थिए । सोही अनुसार उनले अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको बताइएको छ । राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेकाले यसै विषयमा थप कुराकानी गर्न अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग भेट्न लागेका हुन् ।

अहिले मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ । आलेसहित, विरोध खतिवडा, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र मन्त्री नबनेका अरू सांसदसमेत गरी १० जनाले मन्त्रिपरिषद् हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए । हस्ताक्षर गर्नेहरूमध्ये पर्यटन मन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए । पार्टी अध्यक्ष नेपालले आइतबार एक कार्यक्रममा प्रधानमन्त्रीले आज साँझसम्ममा नयाँ मन्त्रीलाई शपथ खुवाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।