वैशाख ३०, मियामी । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी अमेरिकी मेजर लिग सकर (एमएलएस) मा सर्वाधिक कमाउने खेलाडीको सूचीको शीर्ष स्थानमा रहेका छन् । एमएलएस प्लेयर एसोसिएसनले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ३८ वर्षीय मेसीको वार्षिक तलब २ करोड ५० लाख डलर (करिब ३ अर्ब ३५ करोड नेपाली रुपैयाँ) रहेको छ ।
यो पारिश्रमिक लिगमा दोस्रो धेरै कमाउने खेलाडीको तुलनामा दोब्बरभन्दा बढी हो । गत अक्टोबरमा इन्टर मियामीसँग सम्झौता नवीकरण गरेपछि मेसीको आधारभूत तलबमा शतप्रतिशत वृद्धि भएको हो । बोनस र अन्य सुविधासहित उनको कुल सुनिश्चित आम्दानी २ करोड ८३ लाख डलर पुग्नेछ । सर्वाधिक कमाउनेको सूचीमा लस एन्जलस एफसी (एलएएफसी) का सन ह्युङ-मिन दोस्रो स्थानमा छन् । टोटनहमका पूर्वफरवार्ड ३३ वर्षीय सनको आधारभूत तलब १ करोड ४ लाख डलर छ । त्यस्तै, इन्टर मियामीका रोड्रिगो डी पल र सन डिएगो एफसीका हिर्भिङ लोजानो पनि धेरै कमाउनेको सूचीमा अगाडि छन् ।
यो तथ्यांकमा मेसीले विज्ञापनबाट गर्ने आम्दानी र क्लबको हिस्सा खरिद गर्न पाउने विशेष सुविधा भने समावेश गरिएको छैन । सन् २०२३ मा मियामी आबद्ध भएका मेसीले ६४ खेलमा ५९ गोल गरिसकेका छन् । उनकै कप्तानीमा मियामीले सन् २०२५ को एमएलएस कप जितेको थियो । पछिल्ला दुवै सिजन उनी लिगकै ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएका थिए ।
