0 COMMENTS

जेठ ३०, काठमाडौँ । मिटरब्याजमा रकम लगाई सर्वसाधारण घरबास उठाउने सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेली पक्राउ परेकी छिन् । ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी अनुराधा साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा) ले सोमबार पक्राउ गरेको हो ।

महाशाखाका सूचना अधिकारी एसपी दिनेश कुमार आचार्यका अनुसार सप्तरी प्रहरीको अनुरोधमा प्रतिवादी अनुराधा कुमारी साहलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको हो । साविकको खरहनी गाविस वडा नम्बर ५ धनुषाकी ४५ वर्षीय साहलाई जेठ २८ गते प्रहरीले बुद्धनगरबाट पक्राउ गरेको थियो । त्यसलगत्तै जेठ २९ गते साहलाई इलाका प्रहरी कार्यालय, कल्याणपुर सप्तरीमा पठाइएको छ ।

बुवा रामदेव साह तेलीसँग मिलेर अनुराधाले मिटरब्याजमा पैसा दिने र त्यसबापत कैयौं गुणा बढी रकम असुल्ने गरेको प्रहरीमा उजुरी परेको छ । अनुराधाले बुवा रामदेवसँग मिलेर ठगी र आपराधिक विश्वासघात गरेको भन्दै अनुसन्धान प्रयोजनका लागि पक्राउ गरिएको हो । केही दिनअघिमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव लाई तत्काल पक्राउ गरी कारवाही गर्न निर्देशन दिएका थिए । सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको गुनासोपछि प्रधानमन्त्रीले कारवाही गर्न निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।