0 COMMENTS

मङ्सिर २२, चितवन । संघीय सरकार अन्तरगतको भरतपुर अस्पतालले औपचारिक रुपमा ट्रमा सेन्टरबाट उपचार सेवा सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले आज (सोमबार) ट्रमा सेन्टर भवन र कम्पाउण्डीङ फार्मेसी ल्याबको समुद्घाटन गरेसँगै भरतपुर अस्पतालमा औपचारिक रुपमा ट्रमा सेन्टरबाट सेवा सुरु भएको हो । तत्कालका लागि १५ बेड क्षमतामा ट्रमा सेन्टरबाट उपचार सेवा सुरु गरिएको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा.कष्णप्रसाद पौडेलले जानकारी दिए । अस्पताल विकास समितिले आफ्नै स्रोतबाट ट्रमा सेन्टर निर्माण गरेको हो । भवन निर्माण गर्दा ११ करोड खर्च भएकोमा सबै उपकरण जडान हुँदासम्म १३ करोड रुपैयाँ खर्च लाग्ने मेसु पौडेलले जानकारी दिए ।

यो ट्रमा सेन्टर ५० बेड क्षमताको रहने छ । ट्रमा सेन्टर उद्घाटन गर्दै स्वास्थ्य मन्त्री गौतमले आफू ४५ वर्षअघि भरतपुर अस्पतालमा काम गर्दा बखत नै ट्रमा सेन्टरको आवश्यकता महसुस भएको स्मरण गर्दै आज आफैँले ट्रमा सेन्टरको उद्घाटन गर्न पाएकोमा खुशी व्यक्त गरिन् । उनले भरतपुर अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्नु पर्नेमा जोड दिँदै तत्काल एमबीबीएस पढाई सुरु गर्ने अवश्यकता नरहेको बताइन् । मन्त्री गौतमले अझैँ पनि पीसीएल नर्सिङको आवश्यकता रहेको भन्दै सरकारले हाल बन्द अवस्थामा रहेको पीसीएल तहको नर्सिङ पढाई पुनः सञ्चालन गर्ने तयारी गरिरहेको बताइन् । उनले अध्यादेश ल्याएर भएपनि आफ्नै अस्पताल भएका संस्थाले एसइई पछिको पीसीएल नर्सिङ पढाउन पाउने गरि प्रक्रिया अघि बढाउन लागिएको बताइन् ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री उत्तम जोशीले भरतपुर अस्पतालले बिमाको समस्या भोग्दै आएको स्मरण गराउँदै त्यसमा सहजीकरण गरिदिन मन्त्री समक्ष माग गरे । उनले स्वास्थ्य क्षेत्रमा धेरैजसो नीतिगत सुधार आवश्यक रहेको भन्दै छोटो समयको सरकारले धेरै काम गर्न नसक्ने भए पनि आवश्यकताका आधारमा कामलाई प्राथमिकतामा राखेर गर्न आग्रह गरे । समुद्घाटन कार्यक्रम अस्पतालका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।