भदौ १९, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दघाट नगर संगठन समितिले बुधवार बर्दघाट नगरपालिकालाई २३ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
सो क्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले भष्ट्रचार बिरोधी अभियान संचालन गरिरहेको पार्टीले स्थानीय तहलाई सचेत गराउने पहिलो चरणको काम स्वरुप ज्ञापन पत्र बुझाएको जानकारी दिए । उनले दोस्रो चरणमा भष्ट्राचारीहरुको भण्डाफोर र तेस्रो चरणमा जनकारवाही समेतको कार्यक्रम रहेको दावी गरे ।
कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले भष्ट्राचार बिरोधी अभियानलाई तीब्र गतिमा लैजाने पार्टीको निर्णय बमोजिम चरणबद्ध कार्यक्रमहरु हुने जानकारी गराए । ‘हामीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइसकेका छौ, जिल्लाका बिभिन्न कार्यालयमा भएका बिकृति बिसंगति अनियमितता र पालिकामा ज्ञापन पत्र बुझाएपछि भष्ट्रहरुको भण्डाफोर सहित जनतालाई साथमा लिएर निर्मम ढंगबाट संर्घष गर्ने योजना बनेको छ ’ उनले भने ।
कार्यक्रममा क्रान्तिकारी संयुक्त मोर्चा नेपालका जिल्ला संयोजक चुडामणी भण्डारीले भष्ट्रचार , बिकृति , विसंगतिका बिरुद्ध, शिक्षा, स्वास्थ्य, सार्वजनिक सम्पतिको सुरक्षा, कृषि,यातायत , पर्यटनलगायतका बिषय समाबेश गरिएको ज्ञापन पत्र वाचन गरे ।
कार्यक्रममा बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय, पार्टीका जिल्ला कार्यालय सदस्यद्वय गणेश बहादुर ढकाल र दुर्गानारायण चौधरी , क्रान्तिकारी टे्रड युनियन महासंघका केन्द्रीय सदस्य समेत रहेका नगर ईन्चार्ज ज्ञान बहादुर केसीलगायत सहभागी थिए ।