भदौ १७, रूपन्देही । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा सोमवार प्रगतिशील विवाह गरिएको छ । रुपन्देहीस्थित पर्रोहा गाउँमा एक समारोहबीच अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य मनोज थापा र सदस्य पार्वती गिरीबीच विवाह भएको हो । दुवै जनाले एकले अर्कालाई माला र अबिर लगाएर दाम्पत्य जीवनको शुरुवात भएको उद्घोष गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा पाँच नम्बर ब्युरो इन्चार्ज प्रेम सुवेदीले प्रगतिशील विवाहले समाज रुपान्तरणमा अहम भुमिका खेल्ने औल्याए । उनले जनसंस्कृति निर्माणमा यस्ता कार्यक्रमहरुले निकै महत्व राख्ने बताए ।
पार्टीका बैकल्पिक पोलिटब्युरो सदस्य तथा पाँच नम्बर ब्यूरो सचिव जितामित्र सुनारले विवाह एक संस्था रहेको बताउँदै दुवै परिवारको पहलबाट मात्र प्रगतिशील विवाह टिकाउ हुने बताए । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सचिव लक्ष्मीकान्त पौडेलले समाजलाई रुपान्तरण गर्न बरबधुले गरेको हिम्मतको सबैले सरहाना गर्नुपर्ने बताए । उक्त पार्टीका बैकल्पिक केन्द्रीय सदस्य समेत रहेका नवलपरासी जिल्ला सचिव रवि पाण्डेयले सांस्कृतिक क्रान्ति विना राजनैतिक क्रान्ति अधुरो हुने चर्चा गर्दै सांस्कृतिक रूपमा पाखण्ड हावी भएको वर्तमान समाजलाई प्रगतिशील विवाहले नयाँ बाटो देखाएको बताए ।
कार्यक्रममा अध्यक्षता गरेका अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक महेश श्रेष्ठले जनवादी संस्कृति निर्माणमा सङ्गठनले योगदान गर्दै आएको उल्लेख गर्दै समाज परिर्वतनका लागि आफैबाट शुरु गर्नुपर्ने काम वर र बधुले गरेको जनाए । बधुका भिनाजु समेत रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दियाका सचिव प्रेम थापाले थुप्रै जनवादी बिहेलाई जोगाउन नसकेको सर्न्दभ राख्दै दुवै परिवारको सहमतिमा दुवै परिवार साक्षी राखेर विहे गरिएको जानकारी दिए । बरको परिवारको तर्फबाट सिबी थापा, गोबिन्द थापा, खुमानन्द भुसाल र क्रान्तिकारी दलित मोर्चाका तर्फबाट पुर्णबिक्रम नेपालीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा जनकलाकार तथा महिला नेतृ कमला घिमिरेको टोलीले जनवादी गीत प्रस्तुत गरेको थियो । कार्यक्रममा अखिल (क्रान्तिकारी) का ९ नम्बर ब्यूरो संयोजक समेत रहेका बर मनोज थापाले प्रतिबद्धता मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवलाय सदस्य तथा ५ नम्बर ब्यूरो संयोजक सङ्ग्राम भिउ थापाले गरेका थिए ।