असार २१, काठमाडौँ । नेपालले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।
सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको हो। योसँगै सिंगापुर समूह चरणको हारको बदला लिन फेरि चुकेको छ। यही प्रतियोगितामा भएको पहिलो भेटमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गर्दै समूह विजेता बनेको थियो।
नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो । त्यसअघि एसीसीले यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो ।