असार १६, काठमाडाैँ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–८ तल्लो फाँटस्थित वामी–रिडी सडक खण्डमा पहिरो खसेपछि यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण सडकमा ठूलो पहिरो खस्दा आउ–जाउ पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए । वामी–रिडी सडकखण्ड गुल्मी जिल्लाको प्रमुख आवागमन मार्गमध्ये एक हो । सडक अवरुद्ध हुँदा दैनिक यात्रा गर्ने सर्वसाधारण, यात्रुहरू मारमा परेका छन् ।
पहिरो गएको स्थानमा प्रहरी चौकी मजुवा, गुल्मीबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) शिवधन प्रसाद कठरियाको नेतृत्वमा टोली खटिएको छ । स्थानीय सरकार, प्रशासन, प्रहरी र स्थानीयवासीको सहकार्यमा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ ।
मौसममा सुधार आएपछि आवश्यक उपकरणमार्फत सडक खुलाउने कार्यलाई अझ प्रभावकारी बनाइने प्रहरीले जनाएको छ ।