0 COMMENTS

वैशाख २७, काठमाडौँ । स्थानीय तह निर्वाचनको मौन अवधि आज १२ बजे रातिबाट सुरु हुँदै छ । मंगलबार मध्यराति १२ बजेदेखि मतदानको दिनसम्मको अवधिलाई मौन अवधि मानिएको छ । यो अवधिमा चुनावको प्रचार गर्न निषेध गरिएकोे निर्वाचन आयोगले बताएको छ ।

‘मौन अवधिमा कुनै प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न रोक लगाइएको छ’, प्रवक्ता पौडेलले भने, ‘मौन अवधिअघि नै मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसार सामग्री हटाइन्छ।’ कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न नपाइने आचारसंहितामा उल्लेख छ। सामाजिक सञ्जाल, अनलाइन, छापालगायत माध्यमबाट दल र उम्मेदवारको पक्ष तथा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मत माग्न, निर्वाचन प्रचार पोष्ट वा सेयर गर्न गराउन आयोगले रोक लगाएको छ ।

आयोगले सामाजिक सन्जालहरुबाट गरिएका प्रचार सामग्री हटाउन पनि राजनीतिक दलहरुलाई निर्देशन दिएको छ । निर्वाचन सामग्री हटाए÷नहटाएको तथा नयाँ प्रचार सामग्री राखे÷नराखेको सम्बन्धमा निगरानी गर्ने जिम्मेवारी प्रहरी र सेनाको साइबर व्यूरोलाई दिइएको छ ।

निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ । मतदानका दिन वैशाख ३० गते यातायातका साधन बन्द गर्ने निर्णय सरकारले गरेको छ । एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन भने सञ्चालनमा रहनेछन् । निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न यस्तो निर्णय गरिएको प्रवक्ता पौडेलले बताए ।

अस्पतालका चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत् सेवा जस्ता अत्यावशक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनुपर्ने छैन । मंगलबार राति १२ बजेदेखि नै मतदान कार्य सम्पन्न नभएसम्म तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य सख्त निषेध गर्ने निर्णय आयोगले गरेको छ ।

मौन अवधिमा सञ्चारमाध्यमहरुले पनि उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन प्रसारण गर्न नपाउने आयोगले जनाएको छ । वैशाख ३० गते वर्षात हुने मौसम पूर्वअनुमानअनुसार आयोगले सावधानी अपनाउन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।