माघ १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । देशका धेरै स्थानमा बदलीको सम्भाना छ । त्यस्तै, आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
विशेष गरी बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात सेवामा प्रभाव पर्नसक्ने भएका आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।