कात्तिक २९, काठमाडौँ । नेपालबाट अब ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने भएको छ । भोलि (नोभेम्बर १५) शुक्रबारबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुन लागेको हो । यसको उद्घाटन भर्चुअल रुपमा भोलि संयुक्त रुपमा तीन देशका ऊर्जामन्त्रीले गर्नेछन् । त्यसपछि भोलि राति १२ बजेसम्म नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् गएर नेपाल–बंगलादेशबिच विद्युत् व्यापारको औपचारिक सुरुवात हुनेछ ।
नेपाल, भारत र बंगलादेशबिच भएको त्रिदेशीय सम्झौता अनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुनेछ । तर भोलि निर्यात भएपछि यो वर्ष (सन् २०२४) मा थप विद्युत् निर्यात हुनेछैन । त्यसपछि २०२५ को जुन १५ देखि फेरि निर्यात सुरु हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यसलाई नेपालको विद्युत् व्यापारको लागि कोशेढुङ्गा सावित हुने बताए ।