0 COMMENTS

कात्तिक ९, काठमाडौँ । अक्टोबर ७, २०२३ यता इजरेल–प्यालेस्टाइनबीच युद्ध जारी छ । युद्ध विस्तारित भएर लेवनानदेखि इरानसम्म पुगेको छ । यसबिचमा करिब आधा लाख मानिसले यही युद्धका कारण ज्यान गुमाइसकेका छन् ।

अमेरिकाको उक्साहट र सैन्य सहयोगमा इजरेलले प्यालेस्टाइनको हमास शासित गाजा क्षेत्रमा नरसंहार मच्चाएको छ । गाजामा इजरेलले मानवताविरुद्धको अपराध गरेको छ । युद्धमा असंलग्न नहत्था महिला, बालबालिकाको आम नरसंहार मच्चाएको छ । गाजा क्षेत्रमा मात्रै मारिएका ४२ हजार ५ सयभन्दा बढी प्यालेस्टाइनीहरुमा आधाभन्दा बढी जनसंख्या महिला र बालबालिकाको रहेको छ । यसरी आम निर्दोष जनता बम गोला, बारुद्ध र बन्दुक हानेर कत्लेआम गरिरहँदा संयुक्त राष्ट्रसंघ लगायत सिंगो विश्व समुदाय मुकदर्शक बनिरहेको छ । युद्ध पिपासु इजरेलका फासिष्ट शासकहरुले संयुक्त राष्ट्रसंघको पनि कुनै पनि अनुरोधलाई वास्ता गरेको छैन । त्यत्ति मात्र होइन लेबनान र इरानमा समेत आक्रमण गरिरहेको छ र जवाफी आक्रमणहरु पनि भइरहेका छन् ।

पश्चिम एशिया मात्रै होइन सिंगो विश्व नै युद्धको लेपेटामा पर्दै गएको छ । रुस युक्रेन युद्ध, उत्तर र दक्षिण कोरियाबिचको तनाव, चीन ताइवानबिचको तनाव, साउथ चाइना सिको तनाव आदि घटनाक्रमले विस्तारै विश्वमा तेस्रो विश्वयुद्ध हुने हो कि भन्ने आशंकालाई एकपछि अर्को बल पु¥याउने घटनामा बढोत्तरी भइरहेको छ ।

युद्ध अपराधी राष्ट्रको रुपमा बद्नाम अमेरिकाको बुख्याँचा इजरेलले मच्चाएको नरसंहारको आज विश्वव्यापी रुपमा विरोध भइरहेको छ । नेपालमा पनि राजनीतिक र नागरिक तहबाट विरोध भइरहेका छन् । लोकतन्त्र र मानवअधिकार अमेरिकाको केवल देखाउने दाँत भएको साबित भएको छ । सबैभन्दा ठूलो युद्ध अपराधी अमेरिका हो भन्ने कुरा रुस युक्रेन र इजरेल प्यालेस्टाइन युद्धबाट अझ सान्दार रुपमा साबित भएको छ ।

हालै राष्ट्रिय क्राान्तिकारी मोर्चा नेपालसहित विभिन्न १५ वटा वामपन्थी दल तथा आन्दोलनले प्यालेस्टाइनीमाथि जारी इजरायली नरसंहार रोक्न माग गरे । बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी १५ वामपन्थी दलले इजरायली सरकारमाथि कडा कारबाही गर्न अन्तर्राष्ट्रिय समूदायसँग आह्वान समेत गरे । ‘अमेरिकाको उक्साहट र पृष्ठपोषणमा इजरायलको यहुदीवादी सरकार भीषण दमन र राज्य आतङ्कको सहाराले योजनाबद्ध ढंगले प्यालेस्टिनी भूमि बलपूर्वक खोस्दै, खुम्च्याउँदै, प्यालेस्टिनी जनतालाई आफ्नै भूमिबाट बिस्थापित गराउँदै आफ्नो सीमा विस्तारको कार्यमा’ लागेको नेपाली वामपन्थी दलहरूको आरोप छ ।

द्वन्द्वका कारण प्यालेस्टाइनी भूमीबाट लाखौंको संख्यामा स्थानीय जनताहरू विस्थापित भएको स्पष्ट पार्दै विज्ञप्तिमा नेपाली समूदायलाई द्वन्द्वग्रस्त क्षेत्रमा नजान र गएकालाई तत्काल उद्धार गरी फर्काउन सरकारसँग आह्वान गरिएको छ । साथै, बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिन जोशीको तत्काल उद्धार गरेर घर फर्काउन पनि उनीहरूले सरकारसँग माग गरेका छन् ।

प्यालेस्टाइनमाथि इजरेलले गरेको मानवताविरुद्धको अपराध रोक्न सिंगो विश्वबाट दबाब सिर्जना गर्न जरुरी छ । र, आफ्नो आदि भूमि, मातृभूमिको रक्षार्थ वैदेशिक हस्तक्षेपका विरुद्ध हमास तथा प्यालेस्टाइनी जनता र वीर योद्धाहरुले गरेको प्रतिरोधलाई विश्वव्यापी रुपमा स्थापित गरेर लैजान जरुरी छ । प्यालेस्टाइनी जनताको सार्वभौमसत्ताको रक्षा, राष्ट्रिय स्वाधीनता र क्षेत्रीय अखण्डताको रक्षाका लागि गरिएको बलिदानीपूर्ण संघर्षको पक्षमा विश्वभरबाट आवाज बुलन्द गर्न जरुरी छ । साम्राज्यवादी ब्वाँसाहरुका विश्वभरका न्यायपूर्ण नागरिकहरुले सशक्त आवाज बुलन्द गर्न जरुरी छ । अन्यायपूर्ण युद्धका विरुद्ध न्यायपूर्ण युद्धको पक्ष पोषण गर्नु विश्वभरका न्यायप्रेमी जनताको आधारभूत कर्तव्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।