0 COMMENTS

साउन २१, चितवन । भरतपुरको नारायणगढ बजार नजिक नारायणी नदी किनारमा आइतबार बिहान एक व्यक्तिलाई आक्रमण गरेर झाडीमा लुकेको बाघ नियन्त्रणमा आएको छ । दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भएपनि आइतबार साँझ अबेर मात्रै बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो । बाघलाई प्राविधिक टोलीले डार्ट गरेर बेहोस बनाइयो थियो ।

नारायणी नदी किनारमा नदीमा मिसिनु अघि ढललाई प्रशोधन गर्न बनाइएको ट्याङ्क रहेको क्षेत्रको नर्कटको झाडीबाट निकुञ्जका कर्मचारी, प्रहरी प्रशासनको सक्रियतामा बाघलाई नियन्त्रणमा लिइएको हो । बाघ नियन्त्रणमा लिन दिनभर तीनवटा हात्ती परिचालित गरिएको थियो । बाघ नजिक पुग्दा गर्जन सुनेर दुई वटा हात्ती तर्सेर भागेका थिए । पछि सौराहाबाट थप दुई हात्ती ल्याइएर बाघलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

उक्त बाघले आइतबार बिहान भरतपुर महानगरपालिका वडा नम्बर २ बेलटाँडीका ६० वर्षिय पशुपति श्रेष्ठलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते श्रेष्ठको स्वास्थ्य अवस्था भने खतरामुक्त रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।