काठमाडौं । पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील सञ्चारकर्मी जयराम बिडारी महेन्द्र चालिसे कपन बानेश्वर (कबा) साहित्यिक पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत भएका छन् ।
रामहिटी बौद्ध स्थित साहित्य सदनमा कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाको १२औं वार्षिकोत्सवका अवसरमा कार्यक्रमको आयोजना गरि सो सम्मान प्रदान गरिएको हो । पत्रकारिताका माध्यमबाट विशिष्ट योगदान पुर्याएबापत कबाको आयोजनामा श्रृङ्खला मासिकका प्रधानसम्पादक प्रवीण जोशीद्वारा प्रमाण पत्र,विक्रम श्रेष्ठद्वारा सास तथा महेन्द्र चालिसेद्वारा नगद राशि प्रदान गरिएको थियो । उक्त अवसरमा अन्य नौजना विशिष्ट व्यक्तित्वहरुलाई एकसाथ सम्मानित गरिएको थियो।सम्मानित हुने अन्य व्यक्तित्वहरूमा कबा विशिष्ट सम्मानबाट स्रष्टाहरु वसन्त रिजाल ,गणेश मिश्र र रुपान्जली चालिसेलाई सम्मानित गरिएको थियो ।
यसैगरि रमेशप्रसाद खनाललाई कबा सम्मान अर्पण गरियो भने सर्जकहरु पुरुषतर्फ डा.छायाँदत्त न्यौपाने नालाङ्ग कबा रचना पुरस्कार तथा महिलातर्फ पुष्कर प्रसाद श्यामा खरेल स्मृति नालाङ्ग कबा रचना पुरस्कार गङ्गा आचार्य सापकोटालाई प्रदान गरिएको थियो । सोही क्रममा राम आचार्य ‘पुष्पप्रेमी’ लाई गङ्गा लिगल कबा रचना (मोफसल)पुरस्कार ,सुशील आचार्यलाई भमरकोटे सुसेली र हेमगङ्गा (बाल) रचना पुरस्कार अनिता तामाङ बाल विकास बोर्डिङ हाइ स्कुल बुढानिलकण्ठ कक्षा १० की छात्रालाई अर्पण गरियो ।
पत्रकार बिडारी पछिल्लो दुई दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका छन् । उनले जनआकाश लगायत अन्य साप्ताहिक तथा अनलाइनका लागि समेत रिपोर्टिङ गर्दै बीमा क्षेत्रमा बिगत २७ वर्षदेखि क्रियाशील रहँदै आएका छन् ।