0 COMMENTS

असार ३१, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार अपरान्ह राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

ओली सरकारमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बनेका छन्। यसैगरी, गृहमन्त्रीमा रमेश लेखक, परराष्ट्रमा आरजु राणा देउवा, कानुन न्याय तथा संसदीय मामिलामा अजय चौरासीया, पर्यटन तथा संस्कृति मन्त्रीमा बद्रीप्रसाद पाण्डे, स्वास्थ्य  तथा जनसंख्या मन्त्रीमा प्रदीप पौडेल नियुक्त भएका छन्।

यसैगरी शिक्षा मन्त्रीमा विद्या भट्टराई, रक्षामन्त्रीमा मानवीर राई, कृषिमन्त्रीमा रामनाथ अधिकारी, उद्योगमा दामोदर भण्डारी, श्रममा शरदसिंह भण्डारी, सञ्चारमा पृथ्वी सुब्बा गुरूङ, खानेपानीमा प्रदीप यादव र नवल किशोर साह महिला तथा बालबालिका मन्त्री बनेका छन्। यस्तै उर्जामा दिपक खड्का, भौतिक पूर्वाधारमा देवेन्द्र दाहाल, भूमिसुधारमा बलराम अधिकारी, वनमा ऐनबहादुर शाही र खेलकुदमा  तेजुलाल चौधरी नियुक्त भएका छन्।

देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका प्रधानमन्त्री ओलीकाे शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, झलनाथ खनाल,बाबुराम भट्टराई, मन्त्रिपरिषदका अध्यक्ष खिलराज  रेग्मी, सांसदहरू, संवैधानिक आयोगका अधिकारी, कुटनीतिक नियोगका प्रतिनिधिहरू सुरक्षा निकायका प्रमुखहरूलगायतको सहभागिता रहेको थियो ।

राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।