0 COMMENTS

असार ३१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्राकृतिक प्रकोपबाट पीडित जनताले सरकारबाट अभिभावकत्वको अुनुभूति गर्न नपाएको भन्दै पछिल्लो विकसित राजनीतिक परिस्थितिबारे पार्टीको धारणा सार्वजनिक गरेको छ । पार्टीका संयोजक मोहन वैद्य ‘किरण’ ले सोमबार प्रेस वक्तव्यमार्फत प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उनले घर पहिरोमा पुरिएपछि त्यसबाट बचेकाहरुको बसोबास तथा खानपानको अविलम्ब व्यवस्था गर्न र घाइतेहरुको नि:शुल्क उपचार गर्न नेपाल सरकारसँग जोडदार मागसमेत गरेका छन् ।

वक्तव्यमा भनिएको छ, “हिजो असार ३० गतेसम्म बाढी–पहिरो लगायतका विपदमा परी देशभरिबाट १०८ जना नेपालीले आफ्नो ज्यान गुमाएका छन् र घाइते हुनेको कुनै लेखाजोखा छैन । सिमलताल पहिरोले बसहरु बगाएपछि त्रिशुलीमा बेपत्ता हुनेको संख्या त अलग्गै छ । नेपाल सरकारले आजसम्म त्रिशुलीमा डुवेका बसहरु र यात्रुहरुको स्थिति पत्ता लगाउन सकेको छैन । सामान्यतः पानी पर्नु, बाढी पहिरो जानु प्राकृतिक कुरा हो, यसमा राजनीतिको प्रत्यक्ष भूमिका हुँदैन । परन्तु, मौसमविदहरुले यो अवधिमा नेपालमा अत्यधिक वर्षाहुने चेतावनी दिंदादिंदै पनि त्यसबाट जनतालाई बचाउने र विपदमा परेकाको उद्धार गर्ने काममा सरकारले जिम्मेवारी बोध गरेन । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि पहिरोबाट जनधनको क्षति हुनेमा अधिकांशतः भीर पखेरामा बस्न बाध्य पारिएका गरिब, निमुखा र दलित समुदाय नै परे । यो विडम्बनापूर्ण स्थिति हो । प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरु प्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । साथै, घर पहिरोमा पुरिएपछि त्यसबाट बचेकाहरुको बसोबास तथा खानपानको अविलम्ब व्यवस्था गर्न र घाइतेहरुको निशुल्क उपचार गर्न हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ ।”

वक्तव्यमा अगाडि भनिएको छ, “प्राकृतिक विपदबाट देश अस्तव्यस्त भएको र जनताले हारगुहार गरिरहेको स्थितिमा नेपालका संसदवादी राजनीतिक दलहरु सत्तालिप्साको छिनाझपटीमा व्यस्त छन् । कसैलाई दौरा सुरुवाल सिलाउने चटारो छ भने कोही सत्तागुमेको चिन्ताले बौलाएका छन् । अहिलेको राजनीतिक अस्तव्यस्तता कुनै एउटा अमुक संसदवादी पार्टी वा गठबन्धनको असफलताको कारणले पैदा भएको होइन । यो संकट प्रतिक्रियावादी सत्ता तथा संसदीय व्यवस्थाको असफलताको परिणाम हो । त्यसकारण, देश र जनताले विगतदेखि निरन्तर भोग्दै आएका समस्या आज एउटा गठबन्धनका ठाउँमा अर्को गठबन्धन खडागरेर समाधान हुन सक्दैन । त्यसमाथि, संसदमा पहिलो र दोस्रो स्थानमा रहेका संसदवादी राजनीतिक दलहरुका बीचमा बनेको नयाँ गठबन्धन संसदीय व्यवस्थाको आम मान्यता विपरीत मात्र छैन, यसले आउने दिनमा देशलाई थप फासीवादको दिशामा लैजाने कुरा प्रस्ट गरेको छ । जोसँग र जस्तो गठबन्धन गरेर भए पनि सत्तामा पुग्नै पर्ने नेपाली संसदीय राजनीतिले भ्रष्टाचारलाई संस्थागत गर्ने, देशलाई थप कंगाल र अझ बढी परनिर्भर बनाउने कुरामा कुनै शंका छैन ।”

वक्तव्यमा वर्तमान संविधानको खारेजी र जनगणतान्त्रिक संविधानको आवश्यकतामाथि जोड दिंदै भनिएको छ, “अझ विडम्बनाको कुरा त के छ भने नयाँ गठबन्धनले मध्यरातमा गरेका सहमतिका बुँदाहरु आजसम्म सार्वजनिक गरेको छैन । कतिपय नेताहरुले गरेका अनौपचारिक प्रचारबाजीका अनुसार संविधान संशोधन गर्ने भन्ने बुँदाहरु सहमतिमा परेका छन् । यहाँ भनिएको संशोधन देश र जनताको समस्या समाधान गर्ने उद्देश्यमा आधारित होइन, साम्राज्यवाद तथा विस्तारवादले आफ्नो नीहित स्वार्र्थ पुरा गर्नका लागि तिनका दलालहरुलाई सत्तारोहण गर्ने सहज बाटो खोलिदिनका लागि हो । त्यसकारण, समस्याको समाधान यो संविधानको संशोधन होइन, यसको पूर्ण खारेजी र त्यसका ठाउँमा जनगणतान्त्रिक संविधानको निर्माण हो । यो स्थितिमा, हाम्रो पार्टी संविधान संशोधनका लागि होइन, वर्तमान संविधानको पूर्ण खारेजी र जनगणतान्त्रिक संविधान निर्माणका लागि आवाज बुलन्द गर्न आम देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी समूह एवम् व्यक्तित्वहरुलाई हार्दिक आह्वान गर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।