0 COMMENTS

असार २८, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो । उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ । आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो ।

असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि अल्पमतमा परेका प्रचण्डले एकै कार्यकालमा शुक्रबार पाँचौँ पटक विश्वासको मत लिएका हुन् । तर, चार पटक विश्वासको मत पाउन सफल प्रधानमन्त्री यो पटक असफल बनेसँगै १८ महिना सत्ताको नेतृत्व गरेपछि प्रतिपक्षमा पुगेका छन् ।

प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एमालेसहित एक सय ६९ सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । सोहीअनुसार प्रधानमन्त्रीले शुक्रबार संसदको फेस गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।