0 COMMENTS

जेठ ३२, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मन्त्री विदेश जाँदा समेत सदनलाई जानकारी गराउनुपर्ने संसदीय परम्परा रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले पाँच दिन अघि भारत भ्रमण गरेका थिए । उक्त भ्रमणबारे आगामी बैठकमा जानकारी गराइनुपर्ने प्रमुख सचेतक लेखकले बताए । ‘प्रधानमन्त्रीले यही संसदलाई बिर्सनुभयो कि ! प्रधानमन्त्री कुनै पनि भ्रमणमा जाँदा जानु अगाडि जानकारी गराउने परम्परा छ । एक हप्ता पहिले जानुभएको हो । फर्किएर आएको पनि पाँच दिन भयो । हामी कुरेर बसेका थियौं, प्रधानमन्त्रीले जानकारी गराउनु भएन’ लेखकले भने ।

साथै, राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणका बारेमा समेत सरकारले जानकारी गराउनुपर्ने कांग्रेसको माग छ । ‘प्रधानमन्त्री यो सदनको नेता हो । हामीले उहाँ भ्रमणमा गएको पत्रिका पढेर थाहा पाउनुपर्ने ? यो दुर्भाग्य हो कि सौभाग्य हो । राष्ट्रपति बाहिर जानुभएको छ । यो पनि हामीले पत्रिका पढेरै थाहा पाउनुपर्ने हो ?’ उनले प्रश्न गरे ।

प्रधानमन्त्री राष्ट्रपतिको विदेश भ्रमणका सम्बन्धमा सभामुख देवराज घिमिरेले रुलिङ गर्नुपर्ने समेत कांग्रेसका प्रमुख सचेतक लेखकले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।