0 COMMENTS

जेठ २९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका केन्द्रीय सचिवालय सदस्य नारायण सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका केन्द्रीय संयोजक मोहन वैद्य ‘किरण’ ले एक शोक वक्तव्य जारी गर्दै बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं. ९ रिस्मी निवासी नारायण सापकोटा ‘प्रकाश’प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सापकोटाको हिजो २०८१ जेठ २८ गते ४९ वर्षको उमेरमा वीर अस्पतालमा असामयिक निधन भएको थियो ।

विद्यार्थी जीवनदेखिनै अनेरास्ववियुु (छैटौँ) बाट राजनीतिमा प्रवेश गर्नुभएका सापकोटा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष, तत्कालीन नेकपा (मशाल)का पोलिटब्युरो सदस्य हुँदै पछिल्लो चरणमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य हुनुहुन्थ्यो ।

श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, “उहाँको निधनबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एकजना कर्मठ सदस्य र श्रमजीवि नेपाली जनताले आफ्नो एकजना इमान्दार नेता गुमाएको छ । उहाँ लामो समयदेखि ब्रेन ट्युमरको उपचारमा संलग्न हुनुहुन्थ्यो । उहाँका श्रीमति र दुई छोरीहरु हुनुहुन्छ । उहाँको निधनबाट हाम्रो पार्टी तथा नेपाली कम्युनिस्ट आन्दोलनलाई गंभीर क्षति हुन गएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी क. प्रकाशप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँका श्रीमति एवम् छोरीहरुसहित सम्पूर्ण परिवार तथा आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।